Public Pana
अनलाइनबाट बालबालिकामा समेत हिंसा, १ सय ७६ उजुरी

नेपालमा पनि इन्टरनेट सुरक्षा दिवस मनाइँदै छ । इन्टरनेटको  पहुँचले जनजीवन सहज भएको छ । तर इन्टरनेटको सुरक्षित प्रयोग गर्न नसक्दा गलत सूचनाको बाढी र बालबालिका बढी समस्यामा पर्ने गरेको तथ्याङ्कले देखाएको छ ।

बालिकाको नाम र तस्बिर राखेर नक्कली फेसबुक अकाउन्ट बनाएका काठमाडौं, कीर्तिपुर १०, मानाटोलका राजकुमार महर्जन अहिले प्रहरी हिरासतमा छन् ।  फेक अकाउन्ट अर्थात् नक्कली खाताबाट सामाजिक सञ्जालमा बालिकालाई पहिला साथी बनाएका उनले म्यासेन्जरबाट अश्लील म्यासेजहरु पठाएपछि पीडित पक्षको उजुरीमा उनी समातिएका हुन् ।

प्युठान जिल्लाको सरुमारानी गाउँपालिका–१ का सगिर अहमद पनि दुबईबाट पक्राउ परेका छन् । उनले नेपालमा रहेकी नाबालिकालाई साथी बनाएर अनलाइनबाट अश्लील क्रियाकलाप गरेका थिए । अनलाइनबाट यौनजन्य क्रियाकलाप गरेको र नाबालिकालाई मानसिक यातना दिएको उजुरी परेपछि अहमद इन्टरपोलको सहयोगमा दुबईबाटै पक्राउ परेका हुन् ।

यी त उदाहरण मात्र हुन् । बालबालिका तथा किशोर किशोरी अनलाइनबाट हुने हिंसामा गतवर्ष मात्रै एक सय ७६ उजुरी प्रहरीमा परेका छन् । घर–घरमा व्यक्तिपिच्छे मोबाइल अनि इन्टरनेटको सहज पहुँच तर सचेतना र सुरक्षित इन्टरनेटको अभावमा आपराधिक घटनामा बालबालिका बढी प्रभावित बनेका हुन् ।

बालबालिकाहरूलाई सामाजिक सञ्जालमा साथी बनाई वेभक्यामको अगाडि यौनजन्य कार्य गर्न प्रलोभनमा पार्ने, धम्की दिने, उपहार दिन भन्दै भेट्न बोलाउने र शोषण गर्ने जस्ता घटना बढेका छन् ।

अभिभावकले व्यस्तता देखाउँदै भुलाउन मोबाइल वा कम्प्युटर प्रयोग गर्न दिने तर उनीहरूले के गर्दै छन् भन्ने ख्याल नगर्दा पनि बालबालिकालाई इन्टरनेटमा आधारित हिंसाको मारमा पर्ने गरेको देखिन्छ । बालबालिका तथा किशोर किशोरी इन्टरनेटमा के गरिरहेका छन् भन्नेमा अभिभावकले चासो लिने, सुरक्षित प्रयोगबारे बताउने र समस्यामा परे कानुनी उपचार खोज्ने हो भने इन्टरनेटबाट हुने असुरक्षा घट्ने जानकारहरू बताउँछन् ।

अनलाइनबाट हिंसा गर्नु अपराध भएकोले दोषीलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । तर पनि सिस्टम नै ह्याक गरेर महत्त्वपूर्ण सामग्री चोरी गर्ने वा कब्जामा लिने र बालबालिकालाई यौन हिंसा गर्नेहरू उत्तिकै सक्रिय छन् ।

होस् पुराम्, सचेत होऔं ।
 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update