Public Pana
नेपालले एक खेल अगावै जित्यो केन्याविरूद्ध सिरिज

लगातार दोस्रो जित निकाल्दै  नेपालले केन्यामा जारी एक दिवसीय सिरिज एक खेल अगावै जितेको छ।

नेपालले शनिबार दोस्रो एकदिवसीय खेलमा घरेलु टोली केन्यालाई १७ रनले हराउँदै सिरिज तीन खेलको एकदिवसीय सिरिजमा २–० ले आफ्नो पक्षमा पारेको हो।

जितको लागि २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको केन्या ४६.३ ओभरमा २ सय १३ रनमा अल आउट भयो।

घरेलु टोलीका लागि रकिप पटेलले ९८ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ८१ रन बनाए।

यस्तै कोलिन्स ओबुयाले ३७ रन बनाउँदा नेलसन ओदिम्बोले २८ रन जोडे। यस्तै जेरार्ड मुथुईले २० रन बनाउँदा कप्तान सेम याङगोचे र नेहेमिया ओधियाम्बोले समान १२-१२ रन बनाए। बाँकी कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एक समय ८.२ ओभरमा ३९–४ को अवस्थामा पुगेको केन्याले पाँचौं विकेटका लागि रकिप र कोलिन्स ओबुयाले ८१ रनको साझेदारी गर्दै नेपाललाई दबाबमा राखेका थिए।

तर दीपेन्द्रसिंह ऐरीले ३९ औं ओभरको पाँचौं बलमा रकिपलाई बसिर अहमदबाट क्याच गराउँदै नेपाललाई खेलमा फर्काएका थिए।

अन्तिम विकेटका लागि विरज पटेल र जेरार्ड मुथुईले २७ रनको साझेदारी गर्दै केन्यालाई आशा देखाएका थिए। तर दीपेन्द्रले  नै मुथुईलाई २० रनमा बोल्ड गर्दै नेपालको जित पक्का गराए।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ५.३ ओभर बलिङ गर्दै १ मेडनसहित १२ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए। सोमपाल कामीले ८ ओभरमा २ मेडनसहित ४० रन खर्चेर ३ विकेट लिए। करण केसी, आदिल अन्सारी र पवन सरार्फले समान एक-एक विकेट लिए ।

त्यसअघि नैरोबीमामा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २ सय ३० रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौकासहित सर्वाधिक ७८ रन बनाए। ओपनर देव खनालले ३७ रन बनाउँदा सोमपाल कामीले १५ बलमा २६ रन बनाएका थिए।

यस्तै ज्ञानेन्द्र मल्लले २५ रन बनाउँदा बसिर अहमद १७ र करन केसी ११ रनमा आउट भए।

पहिलो विकेटका लागि ओपनर देव खनाल र अर्जुन साउदले ५.५ ओभरमा १९ रनको साझेदारी गरेका थिए। अर्जुन १६ बलमा ५ रन बनाउँदै आउट भए। दीपेन्द्रसिंह ऐरी र पवन सरार्फ २-२ रनमा आउट भए।

केन्याका कप्तान शेम न्गोचेले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए। विरज पटेल १० ओभरमा १ मेडनसहित ३२ रन खर्चेर २ विकेट लिए।

तीन एकदिवसिय सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो। अब तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ।

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  २२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update