Public Pana
रास्वपाका अध्यक्ष रविविरुद्ध जाहेरी

पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारीका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका छन् ।

दर्ता भइनसकेको उक्त जाहेरीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको नाम पनि उल्लेख छ। दीपेश नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव हुन्। 

जिल्ला प्रहरी कार्यालय कास्सीका एसपी मोहन थापाले यो प्रकरणमा रवि र दीपेशसहितविरुद्ध पुरक जाहेरी परेको सञ्चारमाध्यमलाई जानकारी दिए ।

रवि लामिछाने र दीपेश पुनसहित जीबी राईले चलाएका १६ वटा कम्पनीविरुद्ध पुरक जाहेरी आएको छ’, उनले भने, हामीले यसबारे केही दिनदेखि अनुसन्धान गरिरहेका थियौँ। अब दोषी देखिएका मानिसहरूविरुद्ध पुरक प्रतिवेदन अदालत जान्छ।’

सहकारीपीडितले हिजो आइतबार नै जाहेरी दर्ता गराउन चाहेका थिए। तर कास्की प्रहरीले ’सूचना दिनुस्, पुरक जाहेरी दर्ता गरिरहनु पर्दैन’ भनेरर उनीहरूलाई फर्काइदिएको थियो।

सूर्यदर्शन सहकारीका बचतकर्ताको १ अर्बभन्दा बढी रकम अपचलन गरेर सहकारीका पूर्वअध्यक्ष गितेन्द्र (जीबी) राईसहित दर्जनौँ व्यक्ति अहिले फरार छन्।

उक्त सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसहितलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको छ। सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष रम्तेल सबैभन्दा पहिले पुर्पक्षका लागि थुनामा गएका थिए। 

त्यसैगरी युवा संघ नेपालका केन्द्रीय उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे) पनि जेल चलान भएका छन्। उनीसँगै सञ्चालक भविश्वर अर्याल पनि अहिले कास्की कारागारको थुनामा छन्। 

पोखरामा जीबी राई अध्यक्ष रहेको समूहले खोलेको सूर्यदर्शन सहकारीमार्फत् बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। 

ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्षसमेत रहेका जीबी राईले पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड रुपैयाँ गैरकानुनी रूपमा झिकेको छानबिन प्रतिवेदनले देखाएको थियो। 

सहकारीको रकम अपचलनबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको पनि नाम मुछिएको थियो। लामिछानेले भने सहकारीको रकम आफूले नलिएको जिकिर गरिरहेका छन्। 

जिल्ला अदालत, कास्कीमा दर्ता सहकारी ठगी मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरवालालाई दिलाउन माग गरिएको थियो।

surydarsan-650x3901707141074.jpg

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update