Public Pana
प्रतिनिधिसभाको क्यालेन्डर स्वीकृत, सांसदको हाजिरी वेबसाइटबाट

प्रतिनिधिसभा बैठक सञ्चालन गर्न फागुन १४ गतेसम्मका लागि ‘क्यालेन्डर’ स्वीकृत भएको छ। सोमबार प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्य तालिका स्वीकृत गरेको हो। 

प्रतिनिधिसभाको क्यालेन्डर अनुसार माघ महिनामा २२ र २४ गते बैठक बस्ने छ। त्यसपछि फागुनमा ४ वटा बैठक बस्नेछन्।

फागुनमा ६ गते, १० गते, ११ गते, १३ गते र १४ गते बैठक बस्नेछ। समितिको बैठकले सो दिन छलफल हुने विषयको तालिका समेत सार्वजनिक गरेको छ।

यस्तै बैठकले अबदेखि सांसदहरुको विद्युतीय हाजिरी गर्ने र वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने निर्णय पनि गरेको छ।

प्रतिनिधिसभाको बैठक सकिएको छ। हिउँदे अधिवेशनको रुपमा आजबाट सुरु भएको बैठक माघ २४ गते बस्ने गरी स्थगित भएको हो।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएका पत्र पढेर सुनाएका थिए। सरकारका तर्फबाट भएका महत्त्वपूर्ण निर्णय, मन्त्रीहरूको विदेश भ्रमण तथा कार्यवाहक जिम्मेवारी तोकिएको बारे पनि बैठकमा सभामुख  घिमिरेले पढेर सुनाएका थिए।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गरेका छन्।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेस गरेका छन्।

राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक पनि टेबुल भएको छ।


प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update