Public Pana
सांसदहरुको दैनिक उपस्थिति सार्वजनिक गरिने

अबदेखि संसदमा उपस्थित हुने सांसदहरुको विद्युतीय हाजिरी हुने र दैनिक सार्वजनिक गरिने भएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तेस्रो अधिवेशनदेखि प्रतिनिधि सभा बैठकको कार्यतालिका लागू गर्ने निर्णय अनुसार उक्त व्यवस्था गर्ने निर्णय गरेको हो । 

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको कार्यतालिका लागू भएपछि बैठकमा सांसदहरुको उपस्थिति र सहभागिता सहज हुने अपेक्षा गरेको बताए । ‘गएको एक वर्षमा एउटामात्रै विधेयक पारित भएको विषयलाई प्रश्नहरु उठेका छन् । आगामी अधिवेशन ती सबै प्रश्नको समेत जवाफ दिने गरी परिणाममुखी बनाउन अपिल गर्दछु’, सभामुखको अपिल छ । 

उनले सांसदहरुको उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी रुपमा सार्वजनिक गर्नुपर्ने बताए । 

‘माननीयहरुको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने सरल बाटो यही हो’, सभामुख घिमिरेको भनाइ छ । परामर्श समितिको बैठकमा कानुन मन्त्री धनराज गुरुङले धेरै गृहकार्य गरेर कार्यतालिका लागू गर्ने अवस्थामा पुगेको जानकारी दिए । ‘कार्यतालिकाले बैठक बस्ने दिनका बारेमा हुने द्विविधा अन्त्य गर्न सहयोग पुग्नेछ’, मन्त्री गुरुङको भनाइ छ । 

कार्यव्यवस्था परामर्श समिति बैठक 

आजदेखि सुरु हुने तेस्रो अधिवेशनदेखि प्रतिनिधि सभा बैठकको कार्यतालिका लागू गर्ने 

• विद्युतीय उपस्थिति तथा उपस्थिति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने

 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update