Public Pana
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाका कर्मचारीहरु आन्दोलित

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाका प्रमुख भोजराज बिनाडीले आफूहरुमाथि अनुचित व्यवहार, मानसिक यातना र अनुपयुक्त कार्य वातावरण सिर्जना गरेको आरोप लगाउँदै कार्यालयका वरिष्ठ सहायकदेखि तल्लो तहका कर्मचारीहरू आन्दोलनमा छन्।

गत माघ १७ गतेदेखि कर्मचारीहरू हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका हुन्। यस सम्बन्धमा कर्मचारीहरूले केन्द्रीय कार्यालयमा हस्ताक्षर संकलन गरी पठाइसकेका छन्। त्यस्तै, बिनाडीको सरुवाको माग गर्दै श्रम तथा रोजगार कार्यालय हेटौंडामा निवेदन पनि दिइसकेका छन्।

कर्मचारीहरूको माग सम्बोधन नगरेको भन्दै शान्तिपूर्ण आन्दोलन गर्न बाध्य भएको वरिष्ठ सहायक मनिस कुमार मिश्रले बताए। लेखा अधिकृत दिपकराज आचार्यले बिनाडीमा व्यवस्थापकीय गुण नभएको आरोप लगाए। सहायक व्यवस्थापक निवेश अधिकारीले केन्द्रीय कार्यालयले माग सम्बोधन गर्नुपर्नेमा जोड दिए।

कार्यालयका कर्मचारी संघले माघ २४ सम्म कालो पट्टी बाँधेर काम गर्ने र माग पूरा नभए दोस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएका छन्। यसबिच, प्रमुख बिनाडीले आरोप झुटो भन्दै कर्मचारीहरूसँग वार्ता गर्न तयार रहेको बताएका छन्।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update