Public Pana
चालु आर्थिक वर्षको ६ महिनामा पर्यटन मन्त्रालयको बेरुजु ४ अर्बभन्दा धेरै

चालु आर्थिक वर्ष (२०८०-८१)को माघको दोस्रो सातासम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बेरुजु ४ अर्ब २० करोड रुपैयाँ रहेको पाइएको छ ।  मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा र मन्त्रीस्तरीय विकास समाधान समितिको बैठकमा सहसचिव हेमराज तामाङले उक्त फेहरिस्त पेश गरेका हुन् ।

मन्त्रालयका अनुसार सरकारी र समितितर्फको गरी कूल ४ अर्ब २० करोड रुपैयाँ बेरुजु छ । क्यासिनोहरुले रोयल्टी नदिएका कारण बेरुजु बढेको हो । क्यासिनोबाट मात्रै १ अर्ब २१ करोड रुपैयाँ असुल उपर गर्न बाँकी रहेको छ ।
उक्त रकम असुलका लागि मन्त्रालयले पर्यटन विभाग र विभागले सम्बन्धित क्यासिनोहरुमा पत्रचार गरिसकेको छ । कतिपय बेरुजुहरू सार्वजनिक लेखा समितिबाट छलफल भई टुङ्गो नलागेका कारण फर्छ्यौट हुन बाँकी रहेको सहसचिव तामाङले बताए । 

पुरातत्त्व विभाग र पर्यटन विभाग अन्तर्गतका कार्यालयहरु प्रदेश मन्त्रालय र स्थानीय तहमा हस्तान्तरण भएका कार्यालयहरूको ५ करोड ८७ लाख रुपैयाँ बेरुजु सक्कल स्रेस्ता नहुँदा फर्छ्यौट हुन नसकेको हो ।

जलहरीमा भएको भ्रष्टाचार प्रकरणमा सार्वजनिक लेखा समितिले समेत छानबिन गरेको र टुङ्गो नलागेका कारण फर्छ्यौट हुन नसकेको जानकारी तामाङले दिए ।

उनका अनुसार एउटा कामको प्रयोजनका लागि पठाइएको बजेट जलहरीमा प्रयोग भएको थियो । केही समितिहरू स्थानीय तह र प्रदेश मन्त्रालयमा हस्तान्तरण भएकाले सकल स्रेस्ताहरू सम्बन्धित स्थानीय  तह र मन्त्रालयमा रहेकाले ४ करोड ६४ लाख रुपैयाँ फर्छ्यौट हुन नसकेको मन्त्रालयले जनाएको छ । 

नेपालमा ३० वटा क्यासिनो छन् । त्यसमध्ये १८ वटाको मात्रै नवीकरण भएको छ । पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढाका अनुसार तीनवटा थप नवीकरणको लागि मन्त्रालयमा पत्र पठाइएको छ ।

रत्न भेन्यु र सेन्ट्रल मिडिया नामका क्यासिनोले नवीकरणको प्रक्रिया पुरा नगरेपछि नवीकरण भएका छैनन् । हालसम्म क्यासिनोको रोयल्टी थप शुल्क र नवीकरण दस्तुर समेत गरी ७६ करोड १३ लाख ५० हजार रुपैयाँ राजश्वमा दाखिला भएका छन् ।  
 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update