Public Pana
एमाले धादिङमा कुटाकुट :  रोकिएको अधिवेशन खुलाउन अध्यक्ष ओलीले पहल गर्ने

नेकपा एमालेको नवौँ अधिवेशनका क्रममा देखिएको विवाद र कुटाकुट प्रकरण बालकोटसम्म पुगेको छ।
दुई समूहबीच कुटाकुट नै भएपछि अधिवेशन यही सोमबारसम्मलाई स्थगित गरिएको छ।

अधिवेशन रोकिएसँगै अब यो विवादमा बालकोटबाट पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले हस्तक्षेप गर्ने अवस्था आएको छ। 

धादिङमा एमाले नेता खेम लोहनी र जिल्ला अध्यक्ष भूमि त्रिपाठी पक्षबीचको गुटगत विवाद कुटाकुटसम्म पुगेको थियो।विवादलाई लिएर एमालेका बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले एउटा पक्षलाई जिताउने गरी लागेपछि अवस्था जटिल भएको धादिङस्थित एमालेका कार्यकर्ताहरूको भनाइ छ।
प्रदेश अध्यक्ष ढुंगेल लोहनी पक्षलाई जिताउने गरी मैदानमा उत्रिएपछि जिल्ला अध्यक्ष त्रिपाठी पक्षहरू पनि आफ्नो रणनीतिसहित तयारीमा थिए।

त्रिपाठी पक्षले जिल्ला अधिवेशनमा प्रदेश अध्यक्ष ढुंगेलले अनावश्यक चासो र हस्तक्षेप गर्न खोज्दा वातावरण बिग्रिएको बताएका छन्।

एमाले बागमती प्रदेश कमिटी इन्चार्ज गुरु बराल र ढुंगेलले गुटगत रुपमै लोहनी पक्षलाई जिताउन उत्रिएको आरोप त्रिपाठी पक्षले लगाएको छ। 

बराल र ढुंगेलले अधिवेशनमा सोमबारसम्मलाई स्थगित भएको बताइरहँदा त्रिपाठीले भने विज्ञप्ति निकालेर नरोकिएको बताएका छन्। 

ढुंगेलले अधिवेशन स्थगित भएको विज्ञप्ति निकालेपछि जिल्ला अध्यक्ष त्रिपाठीले केही अनाधिकृत उच्छृंखल व्यक्तिहरूले अधिवेशनको थप कार्यक्रम स्थगित भएको भनी हल्ला चलाएको दाबी गरेका छन्। 
एक नेताका अनुसार अध्यक्षमण्डलका अध्यक्ष अध्यक्ष धर्मदत्त देवकोटा र जिल्ला त्रिपाठी अधिवेशन अघि बढाउने पक्षमा थिए। 

तर प्रदेश अध्यक्ष ढुंगेल आइतबार बिहान अधिवेशन स्थगित भनेर विज्ञप्ति निकालेर काठमाडौँ छिरेका छन्। 
प्रदेश इन्चार्ज बराल र अध्यक्ष ढुंगेलले यो विवाद मिलाउने भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालोकटामा सोमबार बिहानका लागि बैठक राखेका छन्। उनीहरूले बालकोटको निर्देशनको हवाला दिँदै सोमबारसम्मलाई अधिवेशन स्थगित भएको बताएका छन्। 

बालकोटले समेत चासो राखेपछि अध्यक्ष मण्डलका सदस्यहरू पनि काठमाडौं पसेका छन्। अब ओलीको निवास बालकोटमा सोमबार हुने बैठकपछि अधिवेशन अघि बढ्ने नबढ्न् टुंगो हुने एक नेताले बताए।

उता जिल्ला अधिवेशन रोकेर काठमाडौँ हिँडेको भन्दै प्रदेश इन्चार्ज र अध्यक्षको आलोचना भएको छ। धादिङ एमालेको अध्यक्षसहित अन्य पदमा पनि गुटगत झगडा देखिएको छ।

धादिङको जिल्ला अधिवेशनबाट हालका अध्यक्ष त्रिपाठी दोस्रो कार्यकालका लागि दोहोरिने तयारीमा छन्। तर, सर्वसम्मत अध्यक्ष बन्ने त्रिपाठीको आकांक्षामा ब्रेक लाग्ने अवस्था आएको छ।

धादिङमा लोहनी समूहले अध्यक्षमा डा. रामकुमार अधिकारीलाई अघि सारेको छ। प्रदेश अध्यक्ष ढुंगेलले आफ्नो गुटबाट अधिकारीलाई अघि सारेका छन्। 
 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update