Public Pana
पर्यटन बोर्डको रिक्त पदमा १९ जना व्यवसायीको आवेदन

नेपाल टुरिजम बोर्ड (एनटीबी) मा राजनीतिक नियुक्ति लिन पर्यटन व्यवसायीहरू लागि परेका छन् ।

भोली माघ २२ गतेदेखि रिक्त हुने तीन पद (बोर्ड सदस्य) का लागि १९ जना व्यवसायीहरूको आवेदन परेको हो । 

तीन वर्षे कार्यकाल पुरा गर्दै उपाध्यक्ष चन्द्र रिजालसहित सदस्यद्वय कृष्ण शाह र नवाङ मिया शेर्पा बोर्डबाट हट्दै छन् । 

निजी क्षेत्रका पर्यटन व्यवसायीहरू यतिखेर राजनीतिक शक्ति केन्द्र, पार्टी र तिनका नेताहरू, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्रधानमन्त्रीसम्म नियुक्तिको सिफारिस बोकेर पुगिरहेका छन् । 

नेपाल पर्यटन बोर्ड नेपालको पहिलो पब्लिक–प्राइभेट सेक्टर पार्टनरशीप (पीपीपी) मोडको नमुना संस्था हो । सोही बोर्ड सदस्य नियुक्तिमा हुन सक्ने सम्भावित चलखेललाई मध्यनजर गर्दै सरकारले यसपटक मन्त्रिपरिषद्बाट बोर्ड सदस्य छनोट गर्ने तयारीका साथ सिफारिस समिति गठन गरेको छ । 

तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सहसचिव गोविन्द कार्कीको संयोजकत्वमा निजी क्षेत्रका दुई जना प्रतिनिधिसहित तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ । 

उक्त समितिले आवेदन परेका व्यवसायीहरूबाट सम्भावित ५ जनाको नाम छनोट गरेर मन्त्रिपरिषद्मा पठाउनेछ । सोही ५ जनाबाट मन्त्री परिषद्ले तीन जनालाई बोर्ड सञ्चालक समिति सदस्यको रूपमा नियुक्त गर्नेछ ।

हालसम्म बोर्ड सदस्यका लागि १९ जना आकाङ्क्षीको दरखास्त परेको छनोट समितिका संयोजक कार्कीले सञ्चारमाध्यमलाई जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update