Public Pana
पूर्व सांसद इच्छाराज तामाङको सजाय निर्धारण हुदै 


काठमाडौ– सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्व सांसद एवं व्यवसायी इच्छराज तामाङको सजाय निर्धारण हुदै छ।  
विशेष अदालतले सिभिल सहकारी ठगीमा पूर्पक्षका लागि थुनामा रहेका तामाङलाई माघ ७ गते दोषी ठहर हुने सजाय सुनाएको थियो । उक्त सजाय अनुसार कैद र विगोका लागि आइतबार पेशी तोकिएको हो । विशेषले ३ वर्षभन्दा माथि सजाय गर्न सक्ने छ। 
विशेष अदाललते पूर्व सांसद एवं व्यवसायी तामाङसहित उनको परिवारका केही सदस्यलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो । 
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गरेको थियो । 
तीन वर्षभन्दा माथिको कैद सजाय हुने मुद्दामा पुनः अर्का पेसी तोकेर सजाय निर्धारण गर्नुपर्ने मुलुकी अपराधसंहिताको व्यवस्था अनुसार  आजका लागि पेशी तोकिएको हो । 
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष तामाङसहित उनको परिवारका ६ जनाविरुद्ध २०७९ भदौ १६ गते मुद्दा दायर गरेको थियो। 
विभागले तामाङ, उनकी श्रीमती, दुई छोरी, सहकारीका तत्कालीन अध्यक्ष केवशलाल श्रेष्ठ र उनकी श्रीमती बिना श्रेष्ठसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो।
विभागले दायर गरेको मुद्दामा ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको दावी गरिएको छ। यस्तै, तामाङकी श्रीमती सिर्जना शाक्यले १ अर्ब ३ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विभागको दाबी छ।

तामाङका छोरीहरु प्रतिक्षासँग ६ करोड २२ लाख र प्रतिशाले १ करोड ८९ लाख, सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँ सम्पत्ति गैरकानुनी देखिएको अभियोगपत्रमा दाबी गरिएको छ। कूल बिगो ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ दाबी गरिएको छ।


 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update