Public Pana
जीवनशैली  क्यान्सरको प्रमुख कारक, जित्न सकिने डा.काे सुझाव

जीवनशैली र खानपिनमा आएको परिवर्तन, धूमपान, मद्यपान, मोटोपनालगायतका कारण नेपालमा क्यान्सर रोगका बिरामी अत्यधिक बढ्न थालेका छन् । 

क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले नेपालमा क्यान्सर रोगको अवस्था भयावह बन्दै गएकोले समयमै सचेत हुनुपर्ने बताए।   नेपालमा रोगका कारण मृत्यु हुनेमध्ये क्यान्सर रोग दोस्रोमा पर्दछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा पहिलोमा मुटुसम्बन्धी रोगका कारण सबैभन्दा बढीका मृत्यु हुने गरेको छ । 

सङ्गठनका अनुसार नेपालमा प्रत्येक दिन ४० जना नेपालीको क्यान्सर रोगका कारण मृत्यु हुने गरेको छ । उनले क्यान्सर रोग तथा नसर्ने रोग बढ्नुको कारकका रूपमा धूमपान र परिवर्तन हुँदै गएको जीवनशैली प्रमुख रहेको उल्लेख गर्दै जनचेतना अभिवृद्धि गरी क्यान्सरको स्क्रिनिङ अभियान सरकारले चलाउनुपर्ने उनले बताए । 

उनका अनुसार पाठेघरको मुखको क्यान्सर रोकथाम गर्नका लागि किशोरीलाई खोप दिन सकिन्छ । यस्तै कलेजोको क्यान्सरका लागि हेपाटाइटिस बीको खोप लगाउनुपर्ने हुन्छ । क्यान्सरको औषधी नेपालमा उत्पादन हुन नसक्दा तुलनात्मक रूपमा महँगो पर्ने गरेको छ । क्यान्सर विशेषज्ञ डा. शाहीले ९९ प्रतिशत क्यान्सरको उपचार नेपालमै हुने गरेको बताए ।  

नेपालमा क्यान्सरको उपचारमा रोबोटिक सर्जरी, रोबोटिक थेरापी तथा प्रोटोनथेरापी उपलब्ध हुन सकेको छैन । प्रोटोनथेरापी (क्यान्सर सेक्ने मेसिन) निकै महँगो पर्छ । भारतमा यो उपकरण जम्मा दुई वटा मात्र छन् ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा. अनिलविक्रम कार्कीले नेपाल क्यान्सर रोगको जोखिममा रहेको बताए ।   उनले पनि क्यान्सर रोगको स्क्रिनिङमा ध्यान दिनुपर्ने बताउँदै रोग पहिचानलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए ।

 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update