Public Pana
उदयपुर घटनाको मुख्य आरोपित भाग्दै गर्दा पक्राउ

 

उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीस्थित गोवाटार गाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ परेका छन् । आफ्नै वंशजका तीन जनाको हत्या गरेर भाग्दै गरेका उनलाई प्रहरीले गए राति पक्राउ गरेको हो । 

शुक्रबार दिउँसो पारिवारिक विवाद भएपछि बेलका नगरपालिका–७ मैनामैनीका ३३ वर्षीय राजकुमार बस्नेत, ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय सुजन बस्नेतको हत्या गरिएको थियो ।

तीनैजनालाई नरबहादुरले खुकुरी प्रहार गरी हत्या गरेका थिए । मृतक सरिता नरबहादुरकी श्रीमती तथा सुजन छोरा हुन् । हत्यापछि नरबहादुर फरार भएका थिए । 

जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेशकुमार शोदारका अनुसार घटना लगत्तै इलाका प्रहरी कार्यालय बेलका रामपुरको टोली परिचालन गरिएको थियो ।

उनलाई बेलका–६ बरबोट नजिकैको जङ्गलबाट खुकुरीसहित पक्राउ गरिएको हो । नरबहादुरको बयान लिने कार्य भइरहेको र हत्याको कारण चाँडै खुल्ने प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताउनुभयो ।

तीनै जनाको शव परीक्षणका लागि सुनसरीस्थित विपी मेमोरियल अस्पताल लगिएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update