Public Pana
एनसेलमा नक्कली कम्पनि खडा गरेर कमिसन लिएर बेच्न खोजियोः केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेलमा झेल भएको बताएका छन । 
 
पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले सरकार अहिले भ्रष्टाचारको तानाबाना बुनेर बसेको जनाउँदै एनसेलमा झेल गर्न खोजेको बताए । 
 
उनले पूर्व मन्त्री र उपप्रधानमन्त्री बनेका मानिसलाई हिरासतमा राख्ने सरकारले  पक्राउ गरेको व्यापारीलाई भने प्रहरी कार्यालयको बाटो हुँदै अस्पताल लगेकोमा आलोचना गरेका छन ।
 
‘केही वर्ष पछि सरकारको स्वामित्वमा आउने एनसेलसमेत कौडीको भाउमा अर्को कम्पनी खडा गरेर बेच्न दिने र त्यसबाट कमिसन लिने दाउमा सरकारका अधिकारीहरू रहेका छन,’ ओलीले भने, ‘सरकार निर्लज्ज भएर भ्रष्टाचारमा उत्रिएको छ ।’

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अहिले बेलगाम भएकोसमेत ओलीले जनाएका छन । राज्यसत्ताको दुरुपयोग गरेर सरकारले रेडक्रस र स्काउटजस्ता पवित्र सामाजिक संस्थाको समेत अधिवेशन गर्न नदिएको ओलीले जनाए ।  ‘कतिसम्म सत्ताको दुरुपयोग ? कुनै संस्था चल्न नै नपाउने, कोही चल्न खोजे रोकिदिने ?’ उनले भने । 
 
उता, एक सय किलो सुन पक्राउ परेको भन्ने सरकारले एक महिना पछि ६ केजीमा झारेकोसमेत ओलीले आरोप लगाए । साँढे ९ केजी पक्राउ परेको सुन कारबाही गर्ने बेलामा २ केजीमा झारिएको भन्दै सरकार तस्करीमा संलग्न भएको जनाए । कुनै घटना आउँछ भने त्यसलाई बुझेर त्यसका विरुद्ध आवाज उठाउन जरुरी रहेको भन्दै सांसदहरूलाइ निर्देशन दिएका छन ।

एमालेलाई अन्य पार्टीसँग मिसाएर उस्तै उस्तै बनाउने प्रयास गरिएको भए पनि त्यो एमालेले स्विकार्न नसक्ने उनले प्रष्ट पारेका छन । एमालेको भूमिका संसद देखि सडकसम्म एकदमै सशक्त हुनु पर्नेमा उनको  जोड छ । 
 
 

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update