Public Pana
घुससहित पक्राउ परेका ‘गोल्ड मेडलिष्ट’ उपसचिव भ्रष्टाचारमा दोषी ठहर 


काठमाडौ– विशेष अदालत काठमाडौले  घुस रकमसहित रङ्गेहात पक्राउ परेका पर्यटन मन्त्रालयका तत्कालीन उपसचिव प्रमोद नेपाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतले नेपाललाई शुक्रवार भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको हो । 
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई दोषी ठहर गर्दै १ वर्ष कैद सजाय र ६ लाख जरिवाना हुने फैसला सुनाएको हो  । 
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार उनलाई सोही दिन कैद र जरिवानाको फैसला सुनाएको हो । 
नेपालसँगै प्रतिवादी बनाइएका बीबी एयरवेजका तत्कालीन कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले भने सफाइ  पाएका छन् ।
बीबी एयरवेजको इजाजत पत्र नवीकरणका लागि नेपालले १६ लाख रुपैयाँ घुस लिएको अख्तियारको आरोप थियो । बीबी एयरवेजका कार्यकारी अधिकृत श्रेष्ठले भने नेपाललाइ घुस दिएको नभई सापटी दिएको बयान दिएका थिए ।
नेपाल २०७९ साउन १७ गते नागपोखरीस्थित होटल अरण्यको परिसरबाट साढे २२ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका थिए  । पर्यटन मन्त्रालयमा कार्यरत उपसचिव नेपाल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तरका ‘गोल्ड मेडलिष्ट’ थिए । उनलाई सवैले गोल्ड मेडलिष्ट सचिवको रुपमा चिन्ने गर्दथे । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update