Public Pana
पशुपतीनाथको दर्शन गर्न भारतका प्रधानमन्त्री मोदी नेपाल आउदै

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री मोदीको भ्रमणका लागि सरकारी उच्चस्तरमा गोप्य तयारी हुँदैछ ।

यही फेबु्रअरीको अन्तिम साता वा मार्च महिनाको पहिलो सातासम्म मोदी नेपाल भ्रमणमा आउने गरी तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र भारतका प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालयको नेतृत्व र सुरक्षा अङ्गको उच्च तहमा मोदीको भ्रमण तयारीका विषयमा छलफल भइरहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार यो साता भारतबाट सुरक्षा निकायको दुई दर्जनको टोली काठमाडौं आएर रेकी गरेर हिजो बिहीबार साँझ दिल्ली फर्केको छ ।

यसअघि भारत भ्रमण गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । प्रचण्ड र मोदी बीच गत १ जुनमा हैदराबाद हाउस दिल्लीमा भेटवार्ता हुँदा प्रचण्डले निमन्त्रणा दिएका हुन् ।
मोदी लुम्बिनी भ्रमणमा आएको समयमा अघिल्ला प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।

यसपटकको मोदीको भ्रमण राजनीतिकभन्दा पनि धार्मिक हुने बताइएको छ । उनी भारतमा लोकसभाको चुनाव हुनुभन्दा पहिला पशुपनिनाथको दर्शन गर्ने अभिप्रायले आउन लागेका हुन् ।

समय परिस्थिति र नेपालको अवस्थाले साथ दियो भने प्रधानमन्त्री मोदीजी नेपाल आउने, निर्वाचनमा जानुभन्दा पहिला बाबा पशुपतिनाथको दर्शन गर्ने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update