Public Pana
सरकारले दोस्रो त्रैमासिकमा ८५ ओटा वेबसाइट होस्ट गर्दै करार र अस्थायी कर्मचारी हटायो

चालु आर्थिक वर्ष २०८०-८१ को दोस्रो त्रैमासिकमा सरकारले ८५ ओटा वेबसाइट होस्ट गरेको छ।

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)ले सार्वजनिक गरेको विवरण अनुसार दोस्रो त्रैमासिकमा ८५ ओटा वेबसाइट होस्ट गरिएको हो।

हालसम्म केन्द्रले १ हजार ९८७ ओटाभन्दा बढी वेबसाइट होस्ट गरेको छ।

दोस्रो त्रैमासिकमा केन्द्रले सबैभन्दा धेरै संख्यामा इमेल सेवा प्रदान गरेको छ। यस अवधिमा केन्द्रले ५३५ ओटा इमेल सेवा प्रदान गरेको छ।

केन्द्रले दोस्रो त्रैमासिकमा ३५ ओटा डीएनएस रजिस्ट्रेसन गरेको छ। हालसम्म केन्द्रले ३ हजार २२५ ओटा डीएनएस रजिस्ट्रेसन गरेको छ।

दोस्रो त्रैमासिकमा केन्द्रले ६२ ओटा भर्चुअलाइजेसन-क्लाउड सर्भिस उपलब्ध गराएको छ। हालसम्म केन्द्रले १ हजार ९६ भर्चुअलाइजेसन-क्लाउड सर्भिस उपलब्ध गराएको छ।

यसैबीच मन्त्रिपरिषद बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतका विभिन्न दरबन्दीहरु पुनरावलोकन गर्दै एकीकृत डाटा व्यवस्थापन केन्द्रका रुपमा संगठन संरचना बदलेर ‘राष्ट्रिय सूचना प्रविधि केन्द्र’लाई कायम राख्ने निर्णय गरेको छ ।

सूचना प्रविधि केन्द्र मातहत नै रहने डिजास्टर रिकभरी कार्यालय, हेटौडामा निर्देशक (उपसचिव)ले नेतृत्व गर्नेछन् । सो केन्द्रलाई थप २० जनाको दरबन्दी दिइएको छ ।

अहिले भएका सबै करार र अस्थायी कर्मचारी हटाउने निर्णय भएकाले अर्कोसातादेखि दरबन्दी अनुसार अघि बढ्नेछ । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update