Public Pana
बैंकहरु मिटरव्याजी जस्तै बनेको एमाले अध्यक्ष केपी ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरुमाथि गम्भीर आरोप लगाएका छन् । उनले बैंक मिटरब्याजी जस्तै बनेको टिप्पणी गरे ।

आज शुक्रबार बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले बैंकिङ क्षेत्रविरुद्ध भइरहेको आन्दोलन गलत भएको बताए ।

तर त्यसका लागि आधार बैंकहरुले पनि दिएको भन्दै उनले भने, ‘बैंक मिटर व्याजी होइन र ? तीन महिनामा सावामा व्याज गाभ्ने अनि त्यही त हो नि मिटरव्याजी भनेको ।’

बैंकहरुले धितोका कारण आफूले दिएको ऋण सदुपयोग भएको छ कि छैन नहेर्ने गरेको उनले बताए । ‘धितो लिलाम गर्नु र ऋण असुल गर्नु मात्र बैंकको काम होइन’ उनले भने, ‘बैंकले लगानी गरेपछि अनुगमन पनि गर्नुपर्छ, सदुपयोग भएको छ छैन पनि हेनुपर्छ ।’

बैंकको व्याजदरमाथि पनि प्रश्न उठाए । सर्वसाधारण मात्र होइन, राष्ट्र बैंकबाट पनि सस्तो ब्याजमा रकम उठाउने गरेको भन्दै उनले धेरै ब्याज लिन नहुने बताए ।

उनले दुई पक्षीय सहमति विना ब्याजदर घटबढ गर्न नपाइने व्यवस्था गर्नुपर्ने समेत बताए । ‘मैले ९ प्रतिशतमा लिएँ, अलि पछाडि १२ प्रतिशत पुग्यो, अलि पछाडि १४ प्रतिशत पुग्यो’ एमाले अध्यक्ष ओलीले भने, ‘ऋण यति लिएको छु भनेर तिर्न जाँदा खल्तीमा बोकेको त के, झोलामा बोके पनि नपुग्ने गरी हिसाब राखेको छ । के भयो भन्दा यसबेलादेखि यति दर बढ्यो ।’

बैंकहरु नाफाखोर निर्मम साहुजी होइनन्, बिकासका सहयोगी बन्नुपर्ने उनको जोड छ ।
उनले बीमा नीतिमाथि पनि प्रश्न उठाएका छन् ।

बीमाको २-४ वर्ष प्रिमियम तिर्ने र बीचमा छोडेकाहरुको रकम फिर्ता नपाउने गरेको भन्दै एमाले अध्यक्ष ओलीले अघि भने, ‘ओभरहेड खर्च जति कटाएर त दिनुप-यो नि !’
 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update