Public Pana
यु १९ विश्वकप :  अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्दै नेपाल, यस्ताे छ हेड टु हेड

नेपाली यू-१९ क्रिकेट टिमले शुक्रबार आइसिसी यू-१९ विश्वकप २०२४ को आफ्नो अन्तिम खेल खेल्दैछ।  दक्षिण अफ्रिकामा भइरहेको प्रतियोगितामा सुपर-६ को अन्तिम खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि नै सेमिफाइनल दौडबाट बाहिरिएको नेपालका लागि भारतविरुद्धको खेलमा राम्रो प्रदर्शन गर्ने चुनौती छ। 

 

किनभने दुई महिनाअघि दुबईमा भएको एसिया कपमा नेपालले भारतसँग १० विकेटको लज्जास्पद हार बेहोरेको थियो। सो खेलमा कमजोर ब्याटिङ गर्दा नेपाल ५२ रनमै अलआउट हुन पुगेको थियो।

विश्वकपमा भने नेपालले भारतसँग तेस्रो पटक खेल्न लागेको हो। यसअघि खेलेका दुवै खेलमा नेपाल पराजित भएको थियो।  

सन् २००० मा कोलम्बोमा नेपाल र भारत यू-१९ विश्वकपमा भिडेका थिए। पहिले ब्याटिङ गरेर १०१ रन बनाएको नेपालका लागि सन्दीप श्रेष्ठले सबैभन्दा बढी २९ रन जोडेका थिए। बलिङमा भारतका युवराज सिंहले ४ विकेट लिएका थिए। 

१०२ रनको लक्ष्य भारतले २ विकेटको क्षतिमा पूरा गर्दै ८ विकेटको जित निकालेको थियो। नेपालका विनोद दासले भारतका ओपनर मनिष शर्मालाई गोल्डन डकआउट गरेका थिए भने अर्का ओपनर रवनित रिकीलाई पारस लुनियाले ३५ रनमा आउट गरेका थिए। 

तर कप्तान मोहमद कैफले नटआउट ५७ रन जोडेपछि नेपालमाथि भारतले सजिलै जित निकालेको थियो। पछिल्लो पटक नेपाल र भारतबीच सन् २०१६ को विश्वकपमा प्रतिस्पर्धा भयो। 

बंगलादेशमा भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १६९ रन जोड्न सकेको थियो। नेपालका लागि ओपनर सन्दीप सुनारले ३७ रन,  आरिफ शेखले २६ रन,  राजविर सिंहले ३५ रन र प्रेम तामाङले नटआउट २९ रन जोडेका थिए।

बलिङमा भारतका आवेस खानले ३ विकेट  लिदा मंयक डागर र वासिङटन सुन्दरले २-२ विकेट लिएका थिए। १७० रनको लक्ष्य भारतले १८.१ ओभरमा ३ विकेट क्षतिमा पूरा गर्दै ७ विकेटको जित निकाल्यो। 

उसका लागि ओपनरद्वय रिशव पन्तले ७८ रन र कप्तान इशान किसनले ५२ रन जोडेका थिए। पन्तलाई प्रेम तामाङले बोल्ड गर्दा सन्दीप लामिछानेले इशानलाई सुनील धमलाबाट क्याच गराएका थिए। 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update