Public Pana
मन्त्रीपरिषदको निर्णय : भरतपुर विमानस्थलमा ठूला जहाज उड्ने

चितवनस्थित भरतपुर विमानस्थल विस्तारको बाटो खुलेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका संरचना हटाएर विमानस्थल विस्तार गर्ने निर्णय गरेको हो। 

भरतपुर विमानस्थल विस्तारबारे लामो समय छलफल भए पनि टुंगिन सकेको थिएन। करिब १ वर्षअघि नै नयाँ टर्मिनल भवन शिलन्यास गरेर काम अघि बढे पनि सेनाको संरचना नहटाइँदा धावनमार्ग बिस्तार रोकिएको थियो। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाली सेनाका केही संरचना हटाउन सेनासँगै सरकारसँग समन्वय गरिरहेको थियो। 
मन्त्रिपरिषद् बैठकले तत्काल भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाले जग्गा उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ।  
‘भरतपुर विमानस्थलको विस्तार गर्न सेनाको संरचना शक्तिखोर (तत्कालीन माओवादी सेनाको अस्थायी शिविर) मा सार्ने निर्णय भएको छ,’ पर्यटन मन्त्री सुदन किरातीले सञ्चारकर्मीलाई भने, ‘संरचना सार्दा हुने खर्च नागरिक उड्डयन प्राधिकरणले ब्यहोर्छ।’

विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन केन्द्र लगायत संरचना छन्। पर्यटन मन्त्रालयका अनुसार नागरिक उड्डयन प्राधिकरणले निर्माण गर्ने, घोडाको नयाँ ब्रिडिङ सेन्टरका लागि नेपाली सेनालाई शक्तिखोरमा जग्गा उपलब्ध गराउने मन्त्रिपरिषद्बाटै निर्णय भएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ५८ बिघा क्षेत्रफलमा विमानस्थल विस्तारका लागि १९ बिघा जमिन आवश्यक पर्छ। 

१२ सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर–पश्चिमतर्फ ४१२ मिटर विस्तार गर्ने योजना छ। 
यसअनुसार विमानस्थलको धावनमार्ग कम्तीमा १५ सय मिटरको बनाउनु पर्नेछ।

नेपाली सेनाको संरचना सार्न नेपाली सेना सहमत भए पनि प्राधिकरण र सेनाबीच सहमति हुन सकेको थिएन। 
मन्त्रिपरिषद्बाटै बाधा फुकाएपछि विमानस्थल विस्तार सुरु हुने प्राधिकरणले जनाएको छ। 
 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update