Public Pana
बाँसबारी छाला जुत्ताका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापा पक्राउ

प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ ।

कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनलाई काठमाडौंको बत्तीसपुतलीबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

सीआईबीले बिहीबार नै यसै घटनामा अनुसन्धानका लागि व्यवसायी अरुण चौधरीलाई पनि पक्राउ गरेको छ ।

सीआईबी स्रोतका अनुसार थापा कार्यकारी प्रमुख भएका बेला बाँसबारी छाला जुत्ता कारखानाको जग्गा बेच्ने निर्णय भएको थियो ।

सीआईबीका एसएसपी दिनेश आचार्यको कमाण्डमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान भइरहेको छ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी घरानाले हडपेको पाइएको सीआईबीले जनाएको छ। सोही कसुरमा उनीहरुलाई पक्राउ गरिएको सीआईबी स्रोतले पुष्टि गयो।
चौधरी गु्रपले च्याम्पियन सु फ्याक्ट्रीका नाममा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोप छ।

उक्त फ्याक्ट्रीको सेयर सदस्यमा सांसद विनोदकुमार चौधरी, अरूणकुमार चौधरी लगायत रहेका थिए।

कुनै समय उक्त जग्गा दिएवापत बाँसबारी छाला तथा जुत्ता कारखाना समेत सेयर सदस्य बनेको थियो। 

बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा उक्त सु फ्याक्ट्रीले लगेको कुरा डा भगवान कोइरालाले आफ्नो पुस्तक हृदयमा उल्लेख गरेका थिए। त्यसैका आधारमा उक्त विषय फेरि चर्चामा समेत आएको थियो।

basbari-1706777886.jpg

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update