Public Pana
दार्चुलामा जिप खस्दा पाँच जनाको मृत्यु, ९ घाइते

दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

जिल्लाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट बुधबार दिउँसो दार्चुला सदरमुकाम खलङ्गा आउँदै गरेको से १ ज ५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिका–६ उलानीमा दुर्घटनामा परेको हो।

जिप दुर्घटनामा परी मृत्यु हुनेमा बझाङ जिल्ला बुङ्गल नगरपालिका–८ का उज्जलसिंह बोहरा, हिक्मत जागरी, पुने बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेका छन् ।

जिप सडकबाट झण्डै २५० मिटर तल खसेको थियो । 

यसैबीच गृहमन्त्री बालकृष्ण खाणले  जिप दुर्घटना हुँदा घाइते भएकाको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

उनले जिल्लामा रहेको स्रोत र साधनले नपुगेमा मन्त्रालयमा खबर गर्न पनि सम्बन्धित अधिकारीलाई आग्रह गरेका छन्।

गृह प्रशासन र दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय तथा सुरक्षा निकायका प्रमुखलाई टेलिफोन गरी घाइतेको उपचारमा कमी हुन नदिन निर्देशन दिएका हुन्।

दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको स्वास्थ्य अवस्था गम्भीर भएको प्रजिअ उपाध्यायले बताए।

घाइते सबैलाई उद्धार गरी गोकुलेश्वर अस्पतालमा पुर‍्‍याइएको छ । गम्भीर घाइतेलाई थप उपचारमा लैजानुपर्ने भएमा र हेलिकप्टर चाहिए मन्त्रालयमा जानकारी गराउन पनि गृहमन्त्री खाणले प्रजिअ उपाध्यायलाई भनेका छन्।

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update