Public Pana
सुन तस्करी : सक्रिय छानविन आयोग

गोरेदेखि सिआइबी प्रमुख र भन्सारका कर्मचारीसँग लियो बयान काठमाडौ सरकारले सुन तस्करीबारे छानविन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा गठन भएको छानविन आयोग सक्रिय भएको छ।

छानविन आयोगले धमाधम सुन तस्करीमा अनुसन्धान गरेका,तस्करीमा कनेक्सन देखिएका र संलग्न अन्य व्यक्तिहरुको बयान लिएको हो ।

सिंहदरबारमा कार्यालय रहेको पूर्व न्यायाधीश डिल्लिराज आचार्यको नेतृत्वमा रहेको समितिले छानविनमा सक्रियता देखाएको हो । असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेको थियो ।

उक्त आयोगलाई पहिलो पटक दिएको समय सकिएपछि २ महिना थप गरिएको थियो । अवको एक महिना समय भएकाले आयोगले सक्रिय रुपमा आफ्नो काम गरिरहेको अध्यक्ष आचार्यले बताए । आचार्यले वुधबार केही महत्वपूर्ण बयान लिने कार्य गरेको उनले बताए ।

सुन तस्करी जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यसँग सोधपुछ गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यलाई सिंहदरबारस्थित कार्यालयमा बोलाएर आयोगका पदाधिकारीहरूले सोधपुछ गरेका हुन् ।

६० किलो सुन र भेपमार्फत गरेको सुन तस्करीबारे अनुसन्धान सहित पछिल्लो समय सिआइबीले सुन तस्करीमा गरेको अनुसन्धानका बारेमा समितिले छलफल गरेको अध्यक्ष डिल्लिराज आचार्यले बताए । तस्करले ६० किलो सुन हङकङबाट र इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर दुबईबाट सुन काठमाडौँमा ल्याएका थिए ।

६० किलो सुनबारे अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा र भेपबारे अनुसन्धान गरेका डिएसपी दुर्गा दाहालसँग पनि आयोगका पदाधिकारीले छलफल गरेका थिए । उनीहरुको छलफलपछि सिआइबी प्रमुखसँग समितिले छलफल गरेको हो ।

ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० किलो सुनमा जोडिएका जीवन चलाउनेलाई केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले उन्मुक्ति दिएको आरोप लाग्दै आएको छ।

चलाउने विरुद्ध डिफ्युजन नोटिश जारी गर्न अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) पत्राचार गरिएको थियो । सिआइबीको प्रतिवेदनमा उनलाई प्रतिवादी बनाइएको थिएन ।

सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्दा चलाउनेलाई प्रतिवादी कायम गरेको थियो । आयोगका अधिकारीहरूले जिल्ला सरकारी वकिल कार्यालयका तत्कालीन प्रमुख अच्युतमणि न्यौपानेसँग पनि सोधपुछ गरेका छन् । उनले आफूले अनुसन्धान भएर आएको प्रतिवेदनका आधारमा जिल्ला अदालतमा मुद्दा दायर गरेको जवाफ दिएका छन् । अध्यागमन विभागका पूर्व प्रमुखसँग पनि छलफल जाँचबुझ आयोगले गत आइतबार अध्यागमन विभागका पूर्व महानिर्देशक झलकराम अधिकारीसँग पनि बयान लिएको थियो ।

सह–सचिव अधिकारी हाल सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत छन् । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएपछि उनी सरुवा भएका थिए ।

आयोगले वुधवार नै सुन तस्करीमा थुनामा रहेका चुडामणी उप्रेती ‘गोरे’सँग बयान लिएको छ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update