Public Pana
भुवन गिरीविरुद्ध दायर रिटमा मिसिल झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध दायर वैवाहिक बलात्कार मुद्दाको मिसिल झिकाउन उच्च अदालतको नाममा आदेश जारी गरेको छ ।

बुधवार कामु प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिल पोखरेलको इजलासले यस्तो आदेश गरेको हो । 

रुपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरुद्ध उनकै पत्नीले दायर गरेको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतबाट थुनामा राख्नु नपर्ने आदेश भएको थियो । तर गिरीकी पत्नीले उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै सर्वोच्च अदालतसम्म पुगेकी थिइन् ।

त्यसअघि काठमाडौँ जिल्ला अदालतमा दायर भएको बलात्कारको मुद्दामा अदालतले गिरीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । सो आदेशको विरुद्ध उनकी पत्नी उच्च अदालत पाटनमा ७३ नम्बरको निवेदन बोकेर पुगेकी थिइन् ।

उच्च अदालत पाटनले पनि काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गरेपछि न्यायाधीश गिरीका पत्नी परिसर २६ (परिसर) २०७९-०८० सर्वोच्च अदालतसम्म पुगेकी थिइन् ।

न्यायाधीश गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने उनको माग छ । आफ्नो मागलाई दबाब दिन भन्दै उनकी पत्नी कहिले सर्वोच्च अदालत अगाडि आत्मदाहको प्रयास गर्ने त कहिले अनसन बस्ने गरेकी छिन् ।

दुई पटक पेसीमा चढेर हेर्न नभ्याइएको उक्त निवेदन बुधवार कामु प्रधानन्यायाधीश खतिवडा र न्यायाधीश पोखरेलको इजलासमा सुनुवाइ भएपछि आदेश र सोसँग सम्बन्धित मिसिल झिकाउने आदेश भएको हो ।

साथै उक्त निवेदनको सुनुवाइका लागि आगामी माघ २४ गतेको पेसी समेत तोकिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update