Public Pana
नेपालका प्रतिभाशाली नेता ओली रहेको पूर्वराष्ट्रपति भण्डारीको दाबी
फाइल तस्बिर

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली राजनीतिक सर्वाधिक प्रतिभाशाली नेता रहेको दाबी गरेकी छिन् ।

आज मंगलवार काठमाडौंमा आयोजित एक समारोहकाबीच ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गर्दै उनले ओली सबैका लागि सदैव प्रेरणा र ज्ञानको स्रोतको रुपमा रहन सक्ने नेता भएको चित्रण गरिन् ।

पूर्वराष्ट्रपतिले भनिन्, ‘यस पुस्तकका नायक श्री केपी शर्मा ओलीज्यु समकालिन राजनीतिक नेताहरुमा पृथक पहिचान बनाउनुभएको नेता हुनुहुन्छ । सर्वाधिक प्रतिभाशाली नेताको रुपमा उच्च स्थान प्राप्त गर्न सफल उहाँ नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्री समेत भइसक्नुभएको व्यक्तित्व हुनुहुन्छ। उहाँ राजनीतिक साथै कला, साहित्य, संस्कृति एवं धर्म दर्शन र विज्ञान लगायतका विषमा समेत गहन ज्ञान भएको नेता हुनुहुन्छ। सघन अध्ययन र संघर्षमय जीवनको लामो अनुभवले खारिनुभएका नेता ओली हाम्रा लागि सदैव प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ ।’

पूर्वराष्ट्रपति भण्डारीले संसदमा गरेका भाषणहरू पनि राजनीतिक हिसावले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यो संकलनीय र संग्रहणीय रहेको पनि बताइन्।

उनले सो पुस्तकले नेपाली संसदको इतिहास, नेपालको तत्कालीन राजनीतिक अवस्था र परिवर्तनका सम्बन्धमा नेकपा एमालेले खेलेको भूमिका समेत उजागर गरेको बताइन्।
 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update