Public Pana
सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष नै सहकारी ठगीमा सलग्न

सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल सहितका व्यक्ति विरुद्ध सहकारी ठगीको आरोपमा मुद्दा दायर भएको छ। काठमाडौंको पुतलीसडकमा रहेको नाता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको ७२ लाख रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोपमा गाउँपालिका उपाध्यक्ष बराल सहित ११ जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो।

जिल्ला प्रहरी परिसर टेकुले सहकारी ठगी प्रकरणमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान फाइल पठाएको थियो। सोही फाइलको आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा उपाध्यक्ष बराल सहितलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ।

११ जनालाई प्रतिवादी बनाइएको मा २ जना मात्रै पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा दोलखाको कालिन्चोक गाउँपालिका–५ घर भएका सहकारीका तत्कालीन सचिव ३७ वर्षीय कुमार खड्का र सिन्धुलीको तीनपाटन गाउँपालिका–६ घर भइ सहकारीको कोषाध्यक्ष पदमा रहेका ३८ वर्षीय अर्जुन थापा छन्। 

त्यसैगरी सहकारीको उपाध्यक्ष रहेका तथा सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल, अध्यक्ष अम्बरबहादुर थापा, सदस्यहरु हरिष चन्द्र माझी, माया कुमारी चौधरी, इन्द्रबहादुर थापा, सिन्धुलीको तीनपाटन–४ का ३८ वर्षीय जयकुमार बाराकोटी, तीनपाटन–६ कि ३५ वर्षीया सूर्य कुमारी पुलामी, संखुवासभाको धर्मदेवी नगरपालिका–५ का ४२ वर्षीय छबिलाल रानामगर, तीनपाटन–६ का ३० वर्षीय ओमकुमार थापा लाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।

उनीहरुले बचतकर्ताको ७२ लाख ३२ हजार ३५० रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ। यो सहकारीले आकर्षक ब्याज दिने भन्दै रकम बचत गर्न लगाएर हिनामिना गरेको आरोप लागेको छ। पक्राउ परेका कुमार खड्काले भने आफू निर्दोष रहेको र सहकारी घोटाला गरिएको थाहा पाएपछि आफैंले सहकारी विभागमा समेत उजुरी हालेको दाबी गर्दै प्रहरी समक्ष बयान दिएका छन्। 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update