Public Pana
क्रिकेटर सन्दिपको पूर्णपाठ फैसला : चर्चित हुनुको फाइदा उठाएर  बलत्कार गरेको ठहर

 जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेले आफ्नो ख्याति (स्टारडम) को दुरुपयोग गरेर बलात्कार गरेको ठहर गरेको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले २५ पुस, २०८० मा गरेको फैसलाको पूर्णपाठमा क्रिकेट खेलेर बनाएको व्यक्तित्वको दुरुपयोग गरी पीडितको कमजोर अवस्थाको फाइदा उठाएको ठहर गरेको हो ।

जिल्लाले उनलाई  ८ वर्ष कैदकाे फैसला सुनाएकाे छ । पूर्णपाठ लगत्तै उनलाई उच्च अदालत जाने वाटाे खुलेकाे छ । 
जिल्ला अदालतले यो मुद्दाको फैसलाको पूर्णपाठमा बलात्कार भएको हो कि होइन र पीडित बालिग हुन् कि होइनन् भन्ने विवाद निरुपण गरेको छ । त्यस क्रममा सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

त्यस्तै पीडितलाई जरिवाना बराबरको ३ लाख र सन्दीपबाट थप २ लाख भराउने गरी ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला पनि गरेको थियो ।

करणी गर्ने  नै मनसाय देखियो’

जिल्ला अदालतले यो घटनामा सन्दीपको करणी गर्ने मनसाय देखिएको ठहर गरेको छ । दिनभर नगरकोट घुमेको र बेलुका सिनामंगलस्थित होटल काठमाडौं इनमा ल्याएर राखेको र पीडित बसेकै कोठामा बस्नुले करणी गर्ने मनसाय देखिएको फैसलाको पूर्णपाठमा उल्लेख छ ।

‘सन्दीप घटनाको दिनको भोलिपल्ट विदेश जाने योजनामा रहेको देखिन्छ यस्तो अवस्थामा निजले पीडितलाई होटलमा लिएर जानु र आफूलाई तय गरिएको होटलमा नबसी पीडित बसेको कोठामा नै बसेको देखियो’ फैसलामा भनिएको छ, ‘प्रतिवादीको मनसाय पीडितसँग करणी गर्नु रहेको भन्ने अनुमान गर्न सकिन्छ । पीडितले प्रतिवादीलाई फसाउनुपर्ने सम्मको कुनै कारण पनि देखिंदैन ।’

पीडितले ‘सन्दीपले मलाई घरमा छाडिसक्यो’ भनी रुममेटलाई पठाएको म्यासेजलाई सन्दीपको निर्दोषिताको प्रमाण मान्न नसकिने पनि जिल्ला अदालतले उल्लेख गरेको छ ।

बालिग कि नाबालिग ?

जिल्ला अदालतले घटना भएको बेला पीडितको उमेर १८ वर्ष पूरा भइसकेको पनि ठहर गरेको छ । विभिन्न कागजातमा उल्लिखित जन्ममिति र पत्राचारहरुको व्याख्या गर्दै जिल्ला अदालतले गौशाला २६ को जन्ममिति १८ असार २०६१ मा भएको किटान गरेको छ ।

गौशाला २६ को कक्षा ८ को प्रमाणपत्र, एसएलसीको ग्रेडसिट, चारित्रिक प्रमाणपत्र, नागरिकको अनुसूची फारममा उनको जन्ममिति १८ जेठ २०६२ उल्लेख छ ।

जिल्ला अदालतले सम्बन्धित स्थानीय तहको वडाको पत्र, पीडितले दिएको निवेदन, जन्मेको भनिएको अस्पतालको पत्र समेतका आधारमा जन्ममिति १८ असार, २०६१ साल हुने भनी व्याख्या गरेको हो ।

जिल्ला अदालतले शैक्षिक प्रमाणपत्रका आधारमा कायम गरिदिएको जन्ममितिका आधारमा अर्को व्यक्तिलाई दायित्व निर्धारण गर्न नहुने औंल्याएको हो ।

उनको उमेर तलमाथि हुँदा अर्को व्यक्तिको दायित्व समेत फरक पर्ने भन्दै जिल्ला अदालतले त्यही आधारमा पीडितको उमेर यकिन गर्नुपरेको उल्लेख गरेको छ । फैसलामा भनिएको छ, ‘पीडितले शैक्षिक प्रमाणपत्र अनुकूल हुनेगरी जन्मदर्ता संशोधन गरेको र त्यसैका आधारमा अरुलाई दायित्व बोकाउन नहुने….।’

जिल्ला अदालतले असमान शक्ति सम्बन्धका कारण कमजोर व्यक्तिहरु सहजै विश्वासमा पर्ने भन्दै पीडित गौशाला–२६ माथि त्यही भएको ठहर गरेको छ ।

असमान शक्ति सम्बन्धमा कमजोर व्यक्तिहरु अर्कोप्रति सहज रुपमा विश्वासमा परेको एक नजिर उल्लेख गर्दै जिल्ला अदालतले कुनै क्षेत्र विशेषका ख्याति प्राप्त व्यक्ति र समर्थकबीच पनि यस्तो सम्बन्ध हुनसक्ने उल्लेख गरेको छ ।

‘यस्ता निर्बल व्यक्तिलाई अर्को पक्षले सहजै दुरुपयोग गर्नसक्ने हुँदा त्यस्ता व्यक्तिहरु यौन जोखिममा रहेका हुन्छन्’ फैसलामा भनिएको छ, ‘यसरी जोखिममा रहेका व्यक्तिसँग हुने यौनक्रियाका सम्बन्धमा मञ्जुरीको प्रश्न उठेमा असमान शक्ति सन्तुलनको दृष्टिकोणबाट हेरिनुपर्ने हुन्छ ।’

२०७९ भदौमा भएको उक्त घटनाको भोलिपल्ट पीडित गौशाला २६ सन्दीपको गाडीमा चढेर आफू बस्दै आएको होस्टेल फर्केकी थिइन् । त्यसको केही सातापछि उनीमाथि बलात्कार भएको भन्दै सन्दीपविरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।

सन्दीपका कानुन व्यवसायीले सहमतिमा यौनसम्पर्क भएको, घटनास्थलमा गौशाला २६ बाट प्रतिवादका कुनै प्रमाण नभएको आदि कारण देखाएर बलात्कार भन्न नमिल्ने जिकिर गरेका थिए ।

जिल्ला अदालतले भने अनपेक्षित घटनामा पीडितले प्रतिकार गर्ने अवस्थै नहुने औंल्याएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update