Public Pana
सरकारद्धारा स्टार्टअप कर्जा कार्यविधि स्वीकृत, ३% ब्याजमा २५ करोड रुपैयाँ विनियोजन

सरकारले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० स्वीकृत गरेको छ । सरकारले व्यवसायसम्बन्धी नवीनतम सोच, सीप र क्षमता भएका उद्यमीलाई स्टार्टअप उद्यममा सहभागी गराउने लक्ष्य राखेको छ ।

अब स्टार्टअप उद्यम सञ्चालन गर्न चाहनेलाई सरकारले नै ३ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ । कर्जा विभिन्न १६ वटा क्षेत्र सम्बन्धी स्टार्टअप उद्यम विकास निम्ति प्रवाह गरिनेछ ।

सरकारले चालू आर्थिक वर्ष २०८०-०८१ मा स्टार्टअप कर्जा प्रवाह गर्न २५ करोड रुपैयाँ बजेट समेत विनियोजन गरिसकेको छ ।

स्टार्टअप उद्यम गर्न इच्छुक नागरिकले बढीमाा २५ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्नेछन् । ५ लाख रुपैयाँसम्मको कर्जा एकै किस्तामा, १५ लाख सम्मका लागि दुई किस्ता र २५ लाख रुपैयाँसम्मको कर्जा तीन किस्तामा प्राप्त हुने स्वीकृत कार्यविधिमा उल्लेख छ । 

यस्तो कर्जा पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कार, कृषि तथा पशुपन्छी, वन पैदावार, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, मानव स्वास्थ्य र शिक्षा तथा शिक्षण सिकाइसँग सम्बन्धित क्षेत्रमा प्रवाह हुनेछ ।

यसैगरी सहज र सुरक्षित यातायात तथा परिवहन, अटो मोबाइल, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाह, खानी तथा खनिज अनुसन्धान र विकास, घरायसी वा दैनिक जीवनयापन, खाद्य उत्पादन तथा प्रशोधन, फोहोर मैला व्यवस्थापन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, वैकल्पिक तथा नवीकरणीय ऊर्जा र जलवायु परिवर्तन न्यूनीकरणसँग सम्बन्धित क्षेत्रमा स्टार्टअप उद्यम गर्न चाहनेले पनि कर्जा सहुलियत ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन् ।
 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update