Public Pana
एनसेलको छानविन प्रतिवेदन तयार , आजै प्रधानमन्त्रीलाई वुझाउने समितिको तयारी 

काठमाडाै-  एनसेलको सेयर बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन तयार पारेको छ । डेढ महिनाभन्दा बढी समयमा अनुसन्धान गरेर समितिले प्रतिवेदन तयार पारेको हो ।

प्रतिवेदन तयार भएसँगै समितिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाउने  तयारी पनि गरेको समितिका एक सदस्यले बताए । 
हाल प्रधानमन्त्रीको उपत्यका बाहिर रहेको र काठमाडौ फर्के लगत्तै साँझतिर प्रतिवेदन वुझाइने समितिले जनाएको छ। 
सरकारलाई जानकारी नै नदिएर मलेसियन कम्पनी आजियाटाले एनसेलको सेयर बेलायती कम्पनी स्पेक्ट्रलाईटलाई बेचेको थियो । सो खरिद–बिक्री सम्झौतापछि राजनीतिक दलदेखि संसद्सम्म छानबिनको माग उठेपछि सरकारले समिति गठन गरेको थियो । मङ्सिर २१ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । यो समितिले पुस २४ गते भित्रमा प्रतिवेदन बुझाउन पर्ने समय पाएको थियो । 
तर समय समाप्त भएको र काम नसकिएको भन्दै समय माग गरिएको थियो । त्यही समयमा संयोजक टङ्कमणि शर्मा बेलायत पुगेका थिए । तोकिएको समयमा प्रतिवेदन तयार नभएपछि सरकारले थप १५ दिनलाई समय थपेको थियो । सोहीअनुसार आज प्रतिवेदन तयार भएको र प्रधानमन्त्रीलाई बुझाउने तयारी भइरहेको ती सदस्यले बताए । 


 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update