Public Pana
क्रिप्टोमार्फत् हुण्डी कारोबार गरेका  ५ मध्ये ४ जनालाई अदालतले  जेल पठायाे

क्रिप्टो करेन्सीमार्फत् २ खर्ब ८४ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको हुण्डीका कारोबार गरेको प्रकरणमा पक्राउ परेका पाँच जनामध्ये चार जना जेल चलान भएका छन्। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले आइतबार चार जनालाई जेल चलान गर्न आदेश दिएको हो। अदालतले झनिन्द्र प्रसाद खतिवडाबाहेक रूपेश श्रेष्ठ, आशिष अग्रवाल, मीनबहादुर जिसी र कुमार परियारलाई थुनामा पठाउने आदेश दिएको छ। 

रुपेश श्रेष्ठ, आशिष अग्रवाल लगायतका पाँच व्यक्तिले कुल २ खर्ब ८६ अर्ब ४ करोड बराबरको कारोबार गरेको पाइएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत् अदालतमा मुद्दा दायर गरेको थियो। 

 

१७ जनालाई प्रतिवादी बनाइएको यो मुद्दामा १२ जना फरार रहेका छन्। नेपाल राष्ट्र बैंक अन्तर्गतको कसुर र संगठित अपराधमा १७ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

सीआईबीले गत मंसिर १७ गते सुरुमा बागबजारबाट रुपेष श्रेष्ठलाई पक्राउ गरेको थियो। त्यतिबेला उनको घरबाट ८९ लाख ६९ हजार नेपाली रूपैयाँ, अमेरिकी डलर ७ हजार २६, ल्यापटप ३ थान, सिपियु ६ थान, टेलर मेसिन १ थान, सीसीटीभी एनभीआर १ थान, मोबाइल ८ थान, राहदानी २ थान, नागरिकता १ थान र विभिन्न मिति तथा व्यक्तिको नाममा काटिएका बैंक चेक ६४ थान बरामद गरेको थियो।

 

उनै रुपेशबाट सुरु भएको अनुसन्धानले २ खर्ब ८४ अर्ब ४ करोड रुपैयाँभन्दा बढी हुण्डीको कारोबार देखिएको भन्दै १७ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाइएको छ।

श्रेष्ठले नेपाल राष्ट्र बैंकसँग इजाजतपत्र नलिई विद्युतीय माध्यम क्यासएप जस्ता मोबाइल एप्स प्रयोग गरी हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको खुल्न आएको सीआईबीले जनाएको छ।

प्रतिवादीहरुलाई कारोबार गरेको देखिएको रकम २ खर्ब ८४ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपैयाँ बराबरीको बिगो भराउन माग दाबी गरिएको छ। सोही अनुसार सजाय समेतेको मागदाबी गर्दै मुद्दा दायर गरिएको छ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update