Public Pana
एमाले वर्तमान सत्ता गठबन्धन तोड्न लागिपरेको छ :  माधव नेपाल
फाइल तस्बिर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालले प्रमुख प्रतिपक्ष नेकपा एमाले अत्यन्त गैर जिम्मेवार ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको बताएका छन् ।

एमाले विभिन्न ढंगले सरकार संचालनमा रहेको वर्तमान गठबन्धन तोड्न उद्यत रहेको अध्यक्ष नेपालको भनाइ छ ।
आज आइतबारदेखि सुरु भएको पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकमा समसामयिक राजनीति र नेपालको अवस्थाबारे लिखित सम्बोधन गर्दै अध्यक्ष नेपालले देशको राजनीतिक, आर्थिक, सांस्कृतिक र अन्तर्राष्ट्रिय अवस्थाबारे चर्चा गर्ने क्रममा यस्तो बताएका हुन् ।

‘सत्ताच्युत भएर प्रमुख प्रतिपक्षमा पुगेको एमाले अत्यन्त गैर जिम्मेवार ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको छ र विभिन्न ढंगले सरकार संचालनमा रहेको वर्तमान गठबन्धन तोड्न उद्यत रहेको छ’, अध्यक्ष नेपालको भनाइ छ ।

उनले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थितिमा अझै पनि अस्थिरताका बादलहरु मडराइरहेको भन्दै आम निर्वाचन २०७९ को परिणामले निर्माण गरेको राजनीतिक शक्ति सन्तुलनमा खासै परिवर्तन नभएको बताएका छन् । साथै उनले माघ ११ को राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेले सत्तागठबन्धनमा उलटफेर ल्याउने प्रयास गरेपनि त्यो सम्भव नभएको बताएका छन् ।

‘मुलुकमा कोभिडको प्रकोपपछि प्रकट भएको आर्थिक संकट र मन्दी अहिलेसम्म पनि कायमै छ । यसमा केही सुधार भए पनि उठेको राजस्वले चालु खर्च धान्न धौ–धौ परिरहेको छ । मूल्यवृद्धि र मुद्रास्फीति बढिरहेको छ’, अध्यक्ष नेपालले भनेका छन्, ‘व्यापार घाटा चुलिँदै गएको छ । ठूलो सङ्ख्यामा युवा जनशक्ति वैदेशिक रोजगारीमा गएको छ र रेमिट्यान्सले अर्थतन्त्रलाई टेवा दिइरहेको अवस्था छ । आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने भनिए पनि त्यस अनुसारको काम हुनसकेको छैन ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले कृषि क्षेत्रमा लगायत अन्य धेरै क्षेत्रमा परनिर्भरता कायमै रहेको बताएका छन् ।

‘लाखौँको संख्यामा रहेको भूमिहीन र गरिब किसान तथा अव्यवस्थित बसोबासीहरुले वर्षौदेखि भोगचलन गर्दै आएको जमिनमाथिको स्वामित्व प्राप्त गर्ने र उत्पादनको न्यायोचित वितरण गर्ने काम अहिलेसम्म पनि हुनसकेको छैन’, नेपालले भनेका छन्, ‘विगत सात दशकदेखि उठिरहेको क्रान्तिकारी भूमिसुधारको मुद्दा अहिलेसम्म पनि कार्यान्वयनको दिशामा अघि बढ्न सकेको छैन ।’

samajbadi-ok1706492160.png

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update