Public Pana
आज विश्वभर कुष्ठ रोग दिवस मनाइदै

आज ७१औं विश्व कुष्ठरोग दिवस कार्यक्रम गरी मनाइँदैछ । ‘कुष्ठरोगीसँग भेदभाव नगरौँ’, ‘कुष्ठरोगीलाई माया गरौँ’, ‘कुष्ठरोगी प्रति हुने भेदभाव अन्त्य गरौँ’ भन्ने जस्ता नारा लेखिएका प्लेकार्डहरु लिएर -याली प्रदर्शन गरिँदैछ । यस्ता कार्यक्रमले कुष्ठरोगसम्बन्धी भ्रमजन्य परम्परागत मान्यता तोड्न यो दिवसले पनि महत्वपूर्ण काम गर्छ । अझ नयाँ पुस्ताले कुरीतिजन्य सवालका मामलामा प्रतिवाद गर्नुपर्छ । सरकारले पनि ‘कुष्ठरोग मुक्त समाज’ घोषणा गरिसकेको छ ।
वर्ष २०२४ को यस दिवसको नारा चाँही Beat the leprosy हो, यस विषयवस्तुले आजको दिनको उद्देश्यहरूलाई समेट्दै कुष्ठरोगसँग सम्बन्धित कलंक उन्मूलन गर्न र रोगबाट प्रभावित व्यक्तिहरूको मर्यादालाई बढावा दिन बिश्वव्यापी पैरवी गरेको छ ।
कुष्ठरोगविरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले देशका ग्रामीण क्षेत्रमा पनि ¥याली तथा अन्य कार्यक्रमहरु आयोजना गरिँदैछ । स्कूलहरुमा हाजिरी–जवाफ, वक्तृत्वकला, निबन्ध लेखन जस्ता प्रतियोगितात्मक क्रियाकलापहरु गरिन्छन् ।
कुष्ठरोग मानव जातीमा हजारौँ वर्ष पहिलेदेखि देखापरेको संक्रमण हो । यो रोगको अङ्ग्रेजी नाम ल्याटिन शब्द ‘लेप्रो’ को विकसित रुप हो । त्यही भएर यसलाई ‘ल्याप्रोसी’ भनिन्छ । नर्वेका डाक्टर वैज्ञानिक गेरहार्ड हेनरीक अर्मर ह्यान्सनले सन् १८७३ मा कुष्ठरोगको किटाणु पत्ता लगाएका थिए । त्यहीकारण यो रोगलाई कतिपय मुलुकमा ‘ह्यान्सन्स् डिजिज’ पनि भनिन्छ ।
यो अन्य रोग जस्तो खतरनाक सरुवा रोग नभए पनि यसबाट मानिसका शरीरमा उत्पन्न हुने असमान्य अवस्थाका कारण पराम्परागत रुपमा रोगलाई पूर्व जन्मको पापका रुपमा लिने गरिन्थ्यो । यो रोगप्रति नकारात्मक सोचाई कारण रोगीहरु सामाजिक बहिस्कारमा पर्ने गरेका थिए ।
पछिल्ला दिनमा कुष्ठ रोगीहरु प्रति हुने गरेको भेदभावमा कमी आए पनि यस्तो भेदभाव पूर्ण रुपमा अन्त्य हुन सकेको छैन । तर जनचेतनाकै विस्तारसँगै मानिसहरुमा विद्यमान त्यस्तो धारणा भने हट्दै जान थालेको पाइन्छ । त्यही भएर समाजको दृष्टिकोण परिवर्तन नगरी यस रोगकाविरुद्ध प्रभावकारी अभियान संचालन गर्न नसकिने बुझाई पनि छ । त्यहीकारण कुष्ठरोगसम्बन्धी चेतनामूलक कार्यक्रमलाई अझ बढी प्राथमिकता सञ्चालन गर्ने सरकारी नीति पनि छ ।
कुष्ठरोग प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभरबाट यो रोगविरुद्ध मनाउन जनवरी ३० तारिखमा थालिएको हो ।
यो एक प्रकारको जीर्ण संक्रमण हो । यो रोग ‘माइकोब्याक्टेरियम लेप्रे’ र ‘माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस’ जीवाणु ‘ब्याक्टेरिया’को संक्रमणको कारणले लाग्छ । संक्रमणको सुरुवातमा कुनै लक्षण देखा नपर्न पनि सक्छ । कतिपय संक्रमित व्यक्तिहरुलाई पाँचदेखि २० वर्षसम्म पनि खासै प्रभाव देखिँदैन ।
कुष्ठरोग ‘पौसिबेसिलरी’ र ‘मल्टिबेसिलरी’ अथवा सर्ने र नसर्ने गरी दुई किसिमको हुन्छ । त्यही भएर कतिपय प्रभावित मानिसहरुले चेतनाको अभावमा उपचारमा हेलचेक्र्याइँ गर्दा विरामीको अवस्था नाजुक भई मृत्यु समेत हुने गरेको पाइन्छ ।
कुष्ठरोगका यी दुईवटा प्रकारलाई शरीरमा कति वटा वास्तविक रङ गुमेको अथवा शरीरमा स्पर्श शक्ति हराएमा वा फुस्रो दाग छ भन्ने आधारमा छुट्याइन्छ । पौसिबेसिलरीमा पाँच वा सो भन्दा कम धब्बा दागहरु हुन्छन् भने ‘मल्टिबेसिलरी’मा पाँच वटाभन्दा बढी हुन्छ । कुष्ठरोग सास फेर्दा, बोल्दा, हाच्छिऊँ गर्दा वा खोक्दा निस्कने मसिना कणहरु वा थोपाहरूको माध्यमबाट सर्छ भन्ने विश्वास छ । तर यो रोग त्यति धेरै संक्रामक मानिंदैन ।
नेपाल कुष्ठरोग मुक्त मुलुक घोषणा भइसके पनि यस प्रकारका रोगको लक्षण देखिएका मानिसहरुले सामाजिक तथा पारिवारिक ग्लानी महसूस गरी उपचार प्रक्रियामा सहभागी नभएका उदाहरणहरु प्रशस्तै भेटिन्छन् । त्यही भएर बेला–बेलामा कुष्ठरोग संक्रमित व्यक्तिहरु देखा पर्दै आइरहेको पाइन्छ । विशेषगरी तराईका १६ वटा जिल्लाहरुमा अझै पनि कुष्ठरोगीहरु भेटिन्छन् ।

मानिसमा उपचार गरे निको हुन्छ भन्ने विश्वास दिलाउन अझ प्रभावकारी अभियानहरु संचालन गर्नु आवश्यक देखिन्छ । सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखापर्ने, हात खुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महसूस हुँदै जानु कुष्ठरोगका लक्षण हुन् ।

कुष्ठरोगलाई पूर्णरुपमा निर्मूल पार्न सरकारले रोगीहरुको स्वास्थ्य उपचार केन्द्रसम्म पहुँच होस् भन्ने मनसायले भत्ताको समेत व्यवस्था गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update