Public Pana
 मौसम : कुनै ठाउँमा कुहिरो कतै हिमपात

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ । मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत अधिकांश तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

आज आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।

राति भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हुस्सु, कुहिरो र हिमपातका कारण तापक्रम घट्ने हुँदा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकाको तापक्रम दिनप्रतिदिन घट्ने क्रम जारी छ। 

यसै क्रममा आज (आइतबार) यो वर्षको अहिलेसम्मकै कम तापक्रम देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। 

मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस देखिएको हो। 

आज सूर्योदय बिहान ६ बजेर ५३ मिनेट र सूर्यास्त साँझ ५ बजेर ४१ मिनेटमा हुनेछ ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update