समुदायमा गएर जनताका पीरमर्का बुझ्ने कांग्रेसको सांगठनिक निर्णय लत्याउँदै आफ्नो व्यक्तिगत अभियान चलाउने महामन्त्री गगन थापाको तयारीमा पार्टी नेतृत्वले अंकुश लगाइदिएको छ ।
महामन्त्री थापाले छुट्टै कार्यक्रम संवाद यात्रा गर्न लागेका थिए । केन्द्रले नै समुदायमा कांग्रेस अभियान कार्यक्रम चलाउने भएपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाको कार्यक्रमबारे चर्चा चलेको थियो ।
छुट्टै कार्यक्रम नगर्न बरु यही समुदायमा कांग्रेस अभियान अन्तर्गत नै कार्यक्रम गर्न थापालाई केन्द्रीय कार्यसम्पादन समितिले सुझाव दिएको थियो । यस विषयमा पदाधिकारीबीच लामै समय माथापच्ची चलेको कार्यसम्पादन समितिले जनाएको छ ।
व्यक्तिगत अभियानमा कसैको साथ नपाउने भएपछि थापाले आजैबाट जनतामा छाएको निराशा चिर्न र स्थानीय स्तरका गुनासा सुन्न भन्दै संवाद यात्रा सुरुवात गरेको बताइएको छ ।
यस यात्राका लागि महामन्त्री थापाले आज बिहान झापाको भद्रपुरस्थित मेची पुलबाट यात्रा शुभारम्भ गरे । तर उनले यो यात्रा यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको बताएका छन् ।
उनले आफ्नो कार्यक्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री तथा कोशी प्रदेशबाट राष्ट्रियसभाका लागि भर्खरै निर्वाचित नेता कृष्णप्रसाद सिटौला राखेरसंवाद यात्रासुरु गरे ।
कांग्रेसका नेताहरू पार्टी निर्देशन पालन गर्दै शनिबारबाट जिल्ला तहमा पुगेका छन् ।
माघ ७ देखि सुरु हुने भनिएको अभियान माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुने भएपछि १४ का लागि सारिएको थियो । पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार माघ २६ मा यो अभियान सम्पन्न गरी तत्काल केन्द्रीय कमिटीको बैठक सकेलगत्तै कांग्रेस महासमिति बैठकको तयारीमा जुट्ने छ ।
१२ दिनसम्म चल्ने अभियानमा केन्द्रीय नेताहरूले गाउँ टोलसम्म पुगेर जनताका समस्या सुन्ने कांग्रेसले जनाएको छ । यस क्रममा गाउँघरमा कांग्रेस प्रतिनिधि गएर जनताका समस्या बुझ्ने र प्रतिवेदनका रूपमा ल्याएर महासमितिको बैठकमा प्रस्तुत गरिने बताइएको छ ।
यो कार्यक्रम जिल्लाका वडा तह र टोल टोलमा स्थानीय कांग्रेस प्रतिनिधिहरू मार्फत पनि सञ्चालन हुने छ । केन्द्रबाट खटिएका प्रतिनिधि सकभर सबै वडा तहमा नै पुग्ने कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले बताइन । कांग्रेसले फागुन ७ गते महासमिति बैठक बोलाएको छ ।
समुदायमा कांग्रेस अभियानका लागि सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई यो अभियानमा परिचालन नगरिएको कांग्रेसले जनाएको छ ।