Public Pana
यू १९ - स्पिनर सुवासलाई आईसीसीको कारबाही

नेपालका युवा स्पिनर सुवास भण्डारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को कारबाहीमा परेका छन् । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपअन्तर्गत दोस्रो खेलमा पाकिस्तानविरुद्ध गरेको गल्तीको कारण उनी कारबाहीमा परेका हुन् ।
यू–१९ विश्वकपका दौरान आईसीसीको ‘कोड अफ कन्डक्ट’ अन्तरगत लेभल १ को नियम तोडेकोमा उनलाई दोषी पाइएको हो । गत बुधबार नेपाल र पाकिस्तानबिचको समूह चरणको खेलमा यो घटना भएको हो ।

उनलाई आईसीसीले एक डेमेरिट प्वान्ट दिएको छ । पाकिस्तानविरुद्ध १४औं ओभरमा भण्डारीले शाहजैब खानलाई अनावश्यक बल फ्याँकेपछि उनको काँधमा लागेको थियो । त्यसैको कारण आईसीसीको आचार संहिता २.९ अनुसार उनी कारबाहीमा परेका हुन् ।

आईसीसी कोड अफ कन्डटक्टको आर्टिल २.९ अनुसार कुनै पनि खेलाडीले खेलका दौरान खेलाडीतर्फ वा खेलाडीको नजिक खतरनाक वा गलत तरिकाले बल फ्याँक्न पाइँदैन ।

भण्डारीले आफूले गल्ती गरेको र आईसीसीका म्याच रेफ्री ग्रेम ल्याब्रोईद्वारा प्रस्तावित कारबाही स्वीकार गरिसकेकाले यसबारे थप सुनुवाइ आवश्यक नरहेको आईसीसीले जनाएको छ ।

एक डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म रेकर्डमा हुनेछ । यदि कुनै खेलाडीको २४ महिनाभित्र चार डेमेरिट प्वाइन्ट भएमा दुई खेलमा प्रतिबन्ध लाग्छ । 

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update