त्रिभुवन विमानस्थलमा प्रहरीबाट अध्यागमनका कर्मचारीमाथि हातपात भएको घटनाबारे छानविन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ ।
शुक्रबार अध्यागमनका कर्मचारी र प्रहरीबीच विवाद हुँदा प्रहरीले कर्मचारीलाई पिटेका थिए ।
घटनामा गम्भीर ध्यानाकर्षण भएको बताउँदै गृहमन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति बनाएको हो । समितिका सदस्यमा डीआईजी राजेशनाथ बास्तोला र अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी छन् ।
समितिलाई तीन दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न भनिएको छ ।
त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमालमाथि विमानस्थलकै प्रहरीले हातपात गरेका छन्।
शुक्रबार अध्यागमनका अधिकृत छायालाल मोक्तानसँग प्रहरीको विवाद भएको थियो । यसक्रममा प्रहरीले आफूलाई पिटेको मोक्तानको भनाइ छ ।
आगमन कक्षबाट प्रस्थानकक्षतिर जाने क्रममा प्रहरीले मोक्तानलाई मेटल डिटेक्टर लगाएर जाँच लिन खोज्दा विवाद भएको थियो ।
आफू अध्यागमनको अधिकृत भएको र मेटल डिटेक्टर लगाइरहनु नपर्ने भन्दाभन्दै प्रहरीले हातपात गरेको मोक्तानको गुनासो छ । उनका अनुसार प्रहरीले लात्ती प्रहार गरेका थिए ।
घटनापछि अध्यागमन कार्यालयका प्रमुखले सीसीटीभी फुटेज जाँच गरेका थिए । सो घटनामा प्रहरीकै कमजोरी देखिएको अध्यागमन स्रोतको दाबी छ ।
घटना लगत्तै विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआइजी अर्जुन चन्दले अध्यागमनका कर्मचारीसँग छलफल गरेका थिए ।
अब यो घटनामा तीनदिनभित्र छानविन गरी प्रतिवेदन आएपछि दोषीमाथि कारवाही गरिने गृह मन्त्रालय स्रोतले बतायो ।