Public Pana
प्रहरीद्धारा त्रिभुवन विमानस्थलका अध्यागमन प्रमुख हमालमाथि हातपात

त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमालमाथि विमानस्थलकै प्रहरीले हातपात गरेका छन्। 

अध्यागमन कर्मचारीमाथि प्रहरीले हातपात गरेको विषयमा बुझ्न खोज्दा प्रमुखमाथि नै प्रहरीले हातपात गरेको अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सञ्चारकर्मीलाई जानकारी दिए। 

‘अध्यागमन कर्मचारीमाथि हातपातको रिपोर्ट भएको थियो’, उनले भने, ‘कसको गल्ती भनेर सीसीटीभी कार्यकक्षमा हेर्दा प्रहरीले ज्यादती गरेको भेटियो र त्यसबारे प्रहरीसँग बुझ्दा हाकिममाथि पनि हातपात भएको हो।’ 

अहिले अध्यागमन र प्रहरीसहितको आकस्मिक बैठक बसिरहेको छ।

प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले भने चेकजाँचका क्रममा सामान्य विवाद भएको बताए। 

अध्यागमनमा कार्यरत कर्मचारीमाथि शुक्रवार प्रस्थान कक्ष तर्फको ड्युटी सकाई एयरपोर्टको डी क्षेत्रको बाटो हुँदै आगमन कक्षतर्फ जाँदै गर्दा चेकजाँच गर्ने स्थानमा खटिएका प्रहरी जवान रविरञ्जन गुप्ताले अश्लील शब्दहरू प्रयोग गरेको र असई सञ्जय तामाङ लगायतका करिब ४-५ जना प्रहरी कर्मचारीहरूले लछारपछार गरी निर्घात कुटपिट गरेको कार्यालयले जनाएको छ ।

कुटपिटका कारण उनको शरीरमा चोटपटक/नीलडाम समेत लागेको छ । 

प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेल समेतको उपस्थितिमा सिसिटिभी हेर्ने भनी सिसिटिभी मोनिटरिङ कक्षमा जाँदा प्र.ना.उ. पोखरेल, अ.स.ई. तामाङ, प्रहरी निरीक्षक मधुसूदन वि.क., दर्जा नखुलेका प्रहरी कर्मचारी प्रकाश चौधरी समेतले सिसिटिभी मोनिटरिङ गर्ने कक्षमा ढोका थुनी प्रमुख अध्यागमन अधिकृत तथा अन्य अध्यागमनका कर्मचारी माथि पुनः कुटपिट गरेको तामाङले जनाए । 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update