Public Pana
आईसीसी यू–१९ : अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा शुक्रबार टस हारेर नेपालले फिल्डिङको निम्तो पाएको हो ।
अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेको छ । दुई देशबीचको खेल नेपाली समयानुसार दिउँसो १ः४५ बजेदेखि शुरू हुँदैछ ।

आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ । किनभने विजेताले सुपर सिक्स चरणमा स्थान पक्का गर्नेछ । 
यसअघिका दुवै खेलमा पराजित नेपाललाई सुपर सिक्समा प्रवेश गर्न आज जित्नैपर्नै दबाब छ । नेपाल यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग र दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । 

सुपर सिक्समा प्रवेशका निम्ति अफगानिस्तानलाई पनि नेपालजस्तै जित्नै पर्ने दबाब छ । अफगानिस्तानले पनि यसअघि पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा न्युजिल्यान्डसँग पराजय व्यहोरेको थियो । आजको खेलमा जीत निकाले नेपाल सुपर सिक्सको समूह–१ मा पुग्नेछ । 

विश्वकप क्रिकेटमा नेपाल र अफगानिस्तानको यो पहिलो भेट हो । एसिया कपमा भने दुई देशबीच प्रतिस्पर्धा भएको थियो ।

दुबईमा भएको एसिया कप २०२३ को खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । 

पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले २६१ रन जोडेको थियो । जवाफमा नेपालले ४०.१ ओभरमा अलआउट हुँदा १८८ रन मात्रै बनायो ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update