Public Pana
राजस्व संकलन लक्ष्य अनुसार नभएकोमा मन्त्री महत चिन्तित

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजस्व उठ्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।

आज शुक्रबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले राजस्वको दृष्टिकोणबाट सरकार धेरै दबाबमा रहेको बताएका हुन्।

पछिल्लो समय राजस्व केही वृद्धि भए पनि राजस्व संरचनामा परिवर्तनका कारण र लक्ष्यअनुसार उठ्न नसकेको उनले बताए।

यो लक्ष्यप्राप्तिका लागि आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको उनले बताएका छन्।

‘धेरै व्यवसाय डिजिटलबेस भएको छ। हामीले पनि आफ्नो शैलीलाई, तौरतरिकालाई त्यही अनुसार नढाल्ने हो भने त्यसलाई क्याप्चर गर्न सक्दैनौँ। त्यसबाट प्राप्त हुने जुन राजस्व छ, त्यो लिन हामी सक्दैनौँ,’ मन्त्री महतले भने, ‘यसमा आन्तरिक राजस्व कार्यालय अझ अगाडि बढ्नुपर्ने अवस्था छ। त्यस्तै, भन्सार कार्यालयले पनि आफूलाई एकदमै अपडेट गरेर लैजानुपर्नेछ।’

त्यसैगरी, विद्युतीय सवारीसाधनको आयात पेट्रोलियम सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजस्व कम उठेको उनले बताए।

पेट्रोलियम सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्यून राखेकाले पछिल्लो आँकडामा ३४÷३५ अर्ब कम भन्सार राजस्व उठेको मन्त्री महतको दाबी छ।

मन्त्री महतले अनलाइन प्रणालीलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न जरुरी रहेको बताए।
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update