Public Pana
सम्पत्ति विदेश पठाएको आरोपमा पक्राउ परेका पौडेलद्वयविरुद्ध अनुसन्धान गर्न  ७ दिन म्याद थप

सम्पत्ति विदेश पठाउने गरेको आरोपमा पक्राउ परेका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल हिरासतमै रहने भएका छन्।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार पौडेलद्वयलाई हिरासतमै राखेर अनुसन्धान गर्न भन्दै  ७  दिनको म्याद दिइएको छ।

हिरासतमा नराख्न भन्दै पौडेलद्वयले आफ्नोतर्फबाट वकिल उतारेर बहससमेत गराएका थिए। अख्तियारले पक्राउ गरेका व्यक्तिविरुद्ध म्याद थप गर्दा सामान्यतया बहस गर्ने प्रचलन छैन। तर पौडेलले भने आफ्नो तर्फबाट म्याद थपकै बेलामा वकिल उतार्दै बहस गराएका थिए। 

 

हिरासतमा नराख्न भन्दै बहस गराए पनि विशेष अदालतले उनीहरुलाई अन्ततः हिरासतमै राखेर अनुसन्धान गर्न निर्देशन दिएको छ। अख्तियार पुरुपयोग अनुसन्धान आयोगको टोलीले पौडेलद्वयलाई बुधबार पक्राउ गरेको थियो। सेक्युरेटी प्रिटिन्ङ घोटाला प्रकरणमा जोडिएपछि उनीहरु निलम्बित भएका थिए।

२०८० असोज १५ मा अख्तियारले पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो। 

 

त्यस्तै २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैंया मागदाबीसहित अख्तियारले दायर गरेको थियो। मुद्दा दायरपछि दुवै निलम्बनमा छन्।

मुद्दा दायरपछि पनि सार्वजनिक सम्पत्ति हिनामिना गरेको स्रोत साधन दुरुपयोग गरेको र सम्पत्ति विदेश पठाउने काममा संलग्न रहेको आशंकामा उनीहरु थप छानबिनका लागि अख्तियारले नियन्त्रणमा लिएको हो।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update