Public Pana
फागुन दोस्रो सातादेखि दादुरा–रुवेला विरुद्धको खोप 

सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। 
दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिव ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप दिन लागेको हो। 

स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाबाट अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका सबै बालबालिकालाई उक्त खोप लगाइने छ। 

जाजरकोट र रुकुम पश्चिममा भने यसअघि नै खोप अभियान सञ्चालन गरिएको थियो । फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियानका क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने उनले बताए।

परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले सरकारले सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न लागिएको बताए।

दादुरा–रुवेला सबैभन्दा बढी सङ्क्रामक रोग हो। एक व्यक्तिले १८ जनासम्ममा यो रोग सार्न सक्दछ।
 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update