Public Pana
संविधानको पालना हामी सबैको दायित्व रहेको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् । 

आज बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

पूर्वन्यायाधीश समाजका अध्यक्ष टोपबहादुर सिंहसहितका पूर्वन्यायधीशहरूसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति समाजको हारमोनी बिगार्न र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको आरोप लगाउँदै संविधान र कानुनको पालना गर्न लगाउन पूर्वन्यायाधीशहरूको भूमिकासमेत महत्त्वपूर्ण रहने बताए ।

प्रधानमन्त्रीले पूर्व न्यायाधीशहरूले विगतमा संविधान र कानुनमाथि आक्रमण हुँदा आवाज उठाएको बताउँदै आगामी दिनमा पनि राज्यका विभिन्न अंग र निकायले गर्ने काममा संविधान र कानुनको पालना भए नभएको बारे निरन्तर निगरानी गरिरहनु पर्ने औँल्याए । 

उनले राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिहरूले भिड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने भन्दै संविधान र कानुनको पूर्ण पालना गरेर त्यसका आधारमा मात्र निर्णय गर्नुपर्ने बताए । 

प्रधानमन्त्रीसँगको छलफलमा पूर्वन्यायाधीशहरूले राज्यको कार्यकारी प्रमुखका नाताले प्रधानमन्त्रीले अहिलेको व्यवस्था सुदृढ गर्न तथा संविधान र कानुनको पालना गराउन भूमिका खेल्नुपर्ने सुझाव राखे ।
 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update