Public Pana
१९ सदस्य राष्ट्रिय सभाका चयनका लागि अहिलेसम्म ८० प्रतिशत मत 

राष्ट्रिय सभाका १९ सदस्य चयनका लागि आज मतदान भइरहेको छ ।अहिलेसम्म ८० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । साँझ ८ बजेभित्रै मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ ।

सात प्रदेशका मुकाममा बिहान ९ देखि सुरु भएको मतदान अहिले पनि जारी छ । राष्ट्रिय सभाको १९ सिटका लागि ५१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगले आज दिउँसो ३ बजेसम्म मतदानको समय तय गरेको छ ।
बागमती, कर्णाली र गण्डकी प्रदेशमा अहिलेसम्म ९० प्रतिशतभन्दा बढी मत खसिसकेको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा ७५ र लुम्बिनीमा ६० प्रतिशत मत खसेको छ । मधेश प्रदेशमा भने चिसोका कारण मतदान केही सुस्त भइरहेको छ ।

प्रत्येक प्रदेशका मुकाममा एक–एक मतदान स्थलमा दुई–दुई मतदान केन्द्र तोकिएका छन् ।
यो निर्वाचनमा निर्वाचक मण्डलको सदस्य रहेका प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्दै छन् । जसमा सात प्रदेशका ५ सय ४९ प्रदेशसभा सदस्य र ७ सय ५३ स्थानीय तहका १४ सय ९८ प्रमुख तथा उपप्रमुख गरी २ हजार ४७ मतदाता छन् ।

प्रदेशसभा एकजना सदस्यको मतभार ५३ र स्थानीय तहका एकजना प्रतिनिधि बराबर मतभार १९ कायम गरिएको छ । प्रदेशसभाका सम्पूर्ण सदस्यको मतभार २९ हजार ९७ हुन्छ भने स्थानीय तहका मतदाताको २८ हजार ४ सय ६२ मतभार छ । कुल मतदाताको मतभार ५७ हजार ५ सय ५९ छ ।

राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यमध्ये कोशी र मधेशमा दुई–दुई तथा बागमतीमा ४ सदस्य चयनका लागि मतदान हुने छ । त्यस्तै गण्डकीमा तीन, लुम्बिनीमा दुई, कर्णाली र सुदूरपश्चिममा तीन–तीन सदस्यका लागि मतदान हुनेछ ।

रिक्त हुनेमध्ये एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाका एक र स्वतन्त्र एक छन् । उनीहरूको कार्यकाल फागुन २० गतेदेखि सकिँदै छ ।

कार्यकाल सकिनु ३५ दिन अगावै नयाँ सदस्य चयन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आज निर्वाचन गर्न लागिएको हो । निर्वाचनका लागि सत्ता गठबन्धनले साझा उम्मेदवार अघि सारेका छन् । कोशी प्रदेशमा एमाले र राप्रपाबीच तालमेल भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update