Public Pana
बिहीबार पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने


जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज (बिहीबार) बिहानसम्म देशको पहाडी भू-भागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहेको छ। मधेस प्रदेशका अधिकांश भु-भागहरुसहित तराईका जिल्लाहरुमा हुस्सु तथा कुहिरो लागेको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ। 
बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बिहीबार राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 


राष्ट्रिय सभा निर्वाचन आज 

राष्ट्रिय सभा सदस्यका रिक्त हुन लागेको १९ पदका लागि आज (बिहीबार) निर्वाचन हुँदैछ। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा भएको जानकारी दिएको छ। 

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटै प्रदेशमा १/१ मतदान स्थल र २/२ मतदान केन्द्र कायम गरिएको छ।

२०७४ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यको पदावधि आगामी फागुन २० गते सकिन लाग्दा अर्को ६ वर्षे पदावधिका लागि १९ जना सदस्यको निर्वाचन हुन लागेको हो। अर्का १ जना सदस्य भने राष्ट्रपतिबाट मनोनित हुनेछन्। 

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटै प्रदेशमा विभिन्न राजनीतिक दलका ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। सत्तारुढ गठबन्धनका दलहरुले सहमतिमा उम्मेदवारी दिएका छन्। जसअनुसार नेपाली कांग्रेसका १०, नेकपा माओवादी केन्द्रका ६, नेकपा एकीकृत समाजवादीका २ र जनता समाजवादी पार्टीका १ जना उम्मेदवार छन्।

संघीय संसद्‌को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १९ वटै पदमा उम्मेदवारी दिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका ७, जनमत पार्टीका २ र नेपाल मजदुर किसान पार्टीका ४ जना उम्मेदवार छन्।
निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रमअनुसार मतदान बिहीबार बिहान ९ बजेदेखि सुरु हुने छ। 

राष्ट्रिय सभा सदस्य निर्वाचित गर्न प्रदेश सभाका सदस्य, पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षले मतदान गर्नेछन्। प्रदेश सभा सदस्यतर्फ ७ वटै प्रदेशमा ५४९ जना मतदाता छन्। 

यस्तै, पालिकातर्फ १ हजार ४९८ जना मतदाता छन्। कुल २ हजार ४७ जना मतदाताले मतदान गर्नेछन्। 

प्रदेश सभा सदस्यको मतभार ५३ र पालिका प्रमुख तथा उपप्रमुख र उपाध्यक्ष तथा अध्यक्षको मतभार १९ कायम गरिएको छ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update