Public Pana
आइसीसी यू १९ विश्वकप क्रिकेटमा पाकिस्तानलाई नेपालको १ सय ९८ रनको लक्ष्य

आइसीसी यू१९ विश्वकप अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानलाई १ सय ९८ रनको मध्यम लक्ष्य दिएको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ५० औं ओभरको अन्तिम बलमा अलआउट हुँदै १ सय ९७ रन बनायो । नेपालले राम्रो सुरुवात पाएपनि मध्यक्रममा विकेट गुमेपछि अपेक्षित रन बन्न सकेन । पाकिस्तानका स्पिनरविरुद्ध नेपाली ब्याटर खुल्न नसक्दा मध्यम योगफल मात्र बन्न सक्यो ।

नेपालले ५० ओभर ब्याटिङ गरेपनि ११ चौका र ३ छक्का मात्र प्रहार गर्न सक्यो । पाकिस्तानका दुई मुख्य स्पिनरले २० ओभरमा मात्र ३८ रन खर्चेका थिए । 
नेपालका लागि ओपनर विपिन रावलले सर्वाधिक ३९ रनको योगदान दिए । उनले ६८ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । तल्लोक्रममा दीपक डुम्रेले ५८ बलमा १ छक्कासहित २६ रनको योगदान दिए । सुभाष भण्डारीले २४ बलमा २० रन जोडे । आकाश चन्द ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नटआउट रहे ।

अघिल्लो खेलमा न्युजिल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका अर्जुन पाँचौ ओभरको दोस्रो बलमा आउट भए । अहमद हुसेनको बलमा बोल्ड हुनुअघि अर्जुनले १२ बलको सामना गर्दै ६ रन जोडे ।

आकाश त्रिपाठी १० बलमा ६ रन जोड्दै सातौं ओभरमा क्याच आउट भए । त्यसपछि देव र विपिनले इनिङ सम्हाल्ने प्रयास गरेपनि देव खराब सट खेल्दै आउट भए । उनले ३७ बलमा ३ चौकासहित २३ रन जोडे । लगत्तै उत्तम मगर पनि ४ रनमा आउट भए । त्यसपछि भने नेपालले बाउन्ड्री जोड्न सकेन ।

२७ औं ओभरमा विपिन रावल आउट हुँदा नेपाल ९६(५ को स्थितिमा पुग्यो । गुलशन झा ४७ बल खेल्दै विना कुनै बाउन्ड्री १८ रन जोड्दै आउट भए । अराफात मिन्हासबाट बोल्ड हुनुअघि दिपेश कँडेलले १७ बलमा २ चौकासहित १३ रनको योगदान दिए । सुभाष भण्डारी अन्तिम ओभरको पाँचौ बल र दुर्गेश गुप्ता अन्तिम बलमा उबेद शाहको बलमा उनैबाट क्याच आउट भए ।

पाकिस्तानका लागि मिन्हासले १० ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । अर्का स्पिनर अलि अस्फन्दले १० ओभरमा १ विकेट लिँदा १५ रनमात्र खर्चिए । उबेद शाह र अहमद हुसेनले २(२ तथा खुबेब खलिल र मोहमद जिशानले १(१ विकेट लिए ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update