Public Pana
१६औँ राष्ट्रिय योजनालाई डिजिटल रूपान्तरण बनाऔँ  : रेखा शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राज्यको प्राथमिकता र लगानी सूचना प्रविधिमा केन्द्रित गर्नुपर्ने बेला आएको बताएकी छन् ।

१६ औँ राष्ट्रिय योजना निर्माणको सन्दर्भमा मंगलबार मन्त्रालयमा भएको राष्ट्रिय योजना आयोगसँगको छलफलमा उनले डिजिटल रूपान्तरणविना मुलुकको समृद्धि सम्भव नभएकाले अब राज्यको प्राथमिकता र लगानी यसमा केन्द्रित हुनुपर्ने बताइन् ।

१६ औँ राष्ट्रिय योजनालाई डिजिटल रूपान्तरणको योजना बनाउनुपर्ने भएकाले डिजिटल पूर्वाधारलाई प्राथमिकताका साथ अघि सार्न पनि उनले राष्ट्रिय योजना आयोगलाई आग्रह गरिन् ।

डिजिटल नेपाल फ्रेमवर्कका आठ क्षेत्र डिजिटल पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र शहरी पूर्वाधारमध्ये डिजिटल पूर्वाधारको क्षेत्र सञ्चार मन्त्रालयको कार्यक्षेत्रभित्र रहेको र बाँकी सात वटा क्षेत्र सम्बन्धित मन्त्रालयका कार्यक्षेत्रभित्र रहेकाले डिजिटल नेपाल निर्माणका लागि डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न सबै मन्त्रालय र निकायको प्राथमिकता निर्धारण गर्ने गरी आगामी योजना बनाउनुपर्नेमा जोड दिइन् ।

‘सबै क्षेत्रलाई एकैसाथ अगाडि बढाउने हो भने डिजिटल नेपाल निर्माणमा धेरै काम गर्न सकिने छ,’ मन्त्री शर्माले भनिन्, ‘संघीय वा प्रदेश राजधानीमा रहेका राम्रा विद्यालयबाट देशभरि स्मार्ट क्लास चलाउन सकिन्छ, काठमाडौँको वीर अस्पतालबाट मात्रै पनि दुर्गमका स्वास्थ्य संस्थामार्फत टेलिमेडिसिन सुरु गर्न सकिन्छ । यी सबै कामका लागि डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन सबैको प्राथमिकता बन्नुपर्छ ।’

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update