Public Pana
जनमत पार्टी  सरकारबाट बाहिरियो, समर्थन पनि फिर्ता

डा. सिके राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ।

जनमत पार्टीका दुईजना मन्त्रीले मंगलबार मुख्यमन्त्री सरोज यादवलाई आफ्नो राजीनामा बुझाएका छन्।

सरकारबाट बाहिरिने निर्णयसँगै जनमतले गठबन्धन सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। 

जनमतबाट मन्त्रीसमेत रहेका महासचिव डा. चन्दन सिंहले मधेस सरकारमा जसपा अध्यक्ष उपेन्द्र यादवको एकलौटी भएपछि बाहिरिएको बताएका छन्। 

’समर्थन फिर्ता लिँदै हामीले मधेस सरकार छाड्यौँ’, उनले भने, ’अरु मन्त्रीकै अगाडि हाम्रा मन्त्रीको टाउको फुटाइयो। यसलाई हामीले गम्भीर रुपमा लियौँ।’

महासचिव सिंहले मधेसमा गठबन्धन सरकार रहेको भन्दै कसैको एकलौटी आफूहरुले नसहने बताए।

’उपेन्द्र एक्लैको बहुमत त होइन। गठबन्धनको सरकार हो’, उनले भने, ’तर त्यहाँ जसपाले एकलौटी गर्न खोज्यो। एक वर्षमा सरकारमा केही कामै गर्न सकेन। पाँच प्रतिशत पनि बजेट खर्च गर्न सकेन।’

मधेस सरकारको नेतृत्वमा रहेको जसपा अध्यक्ष उपेन्द्र यादवसँग जनमत अध्यक्ष राउतको टसल बढिरहेको थियो।

मधेसका मुख्यमन्त्री सरोज यादवले केही दिनअघि जनमतका मन्त्रीहरू सरकारमा टाँसिएर बसेको भन्दै छाडेर गए हुने बताएका थिए।

सोमबार मात्रै राउत निर्वाचित सप्तरी क्षेत्र नम्बर २ मा पुगेर जसपा अध्यक्ष यादवले मधेस कृषि विश्वविद्यालय भवनको शिलान्यास गरेका थिए।

त्यसको विरोधमा जनमतका मन्त्री र सांसदहरू नै विरोधमा उत्रिएका थिए। त्यसक्रममा जनमत नेता एवम् मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेश प्रसाद यादवको टाउको फुटेको थियो। 

यो विवादपछि जनमत मधेस सरकारबाट बाहिरिने आकलन गरिएको थियो। 

१३ सांसद रहेको जनमतबाट मधेस सरकारमा दुईजना मन्त्री थिए। जनमतबाट डा. चन्दन सिंह श्रम तथा यातायात मन्त्री र संसदीय दलका नेता महेश यादव शिक्षा तथा संस्कृति मन्त्री थिए। 

janamat pati1706019522.jpeg

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update