Public Pana
काठमान्डु फरेस्ट्री कलेजको शेयर १ हजार ८५ मा कारोबार

ओटिसी बजारमा काठमान्डु फरेस्ट्री कलेजको ५ सय कित्ता शेयर १ हजार ८५.५ रुपैयाँमा कारोबार भएको छ। 

नेपाल स्टक एक्सचेञ्जले सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेजी भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक सर्त पूरा हुन नसकेका पब्लिक कम्पनीको सेयरको कारोबार तथा नामसारी ओटिसी बजारमार्फत गर्न सक्ने व्यवस्था छ। 

सोहीअनुसार हालसम्म २ सय २६ कम्पनी दर्ता भई कारोबार भइरहेको थियो। कारोबार भएका कम्पनीमध्ये चालू आर्थिक वर्ष २०८०-८१ को दोस्रो त्रैमासमा काठमान्डु फरेस्ट्रीको कारोबार सर्वाधिक मूल्यमा भएको हो। 


नेप्सेका अनुसार काठमान्डु फरेस्ट्रीको ५ सय कित्ता सेयर १ हजार ८५.५ रुपैयाँ प्रतिकित्ताका दरले कुल ५ लाख ४२ हजार ७ सय ५० रुपैयाँ बराबरको कारोबार भएको छ। 

सन् २००५ मा स्थापना भएको काठमान्डु फरेस्ट्री कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद् (सिटिइभिटी)लगायतका विभिन्न कोर्ष सञ्चालन गर्दै आएको छ।

यो कलेज नेपाल एग्रोफोरेस्ट्री फाउन्डेसन (एग्रोफरेस्ट्री प्रवद्र्धनका लागि काम गर्ने राष्ट्रिय गैरसरकारी संस्था) र वन तथा प्राकृतिक स्रोत व्यवस्थापन व्यवसायीको समूहद्वारा संयुक्त रूपमा स्थापना भएको हो। कलेजको अध्यक्षमा किशोरचन्द्र गौतम रहेका छन् भने प्रधानाध्यापकमा डा. झमकबहादुर कार्की छन्। 

नेप्सेका अनुसार डियर वाक ग्रुपको २६ हजार ५ सय कित्ता सेयर २ सय ५०, मेडिकेयर हस्पिटलको १३ हजार ४ सय ८९ कित्ता सेयर १ सय ५८.२ र अन्नपूर्ण केबुलकारको २ लाख ३९ हजार ६ सय ८ कित्ता सेयर १ सय ५० का दरले कारोबार भएको छ।

यस अवधिमा एसईएएन स्पिड सर्भिसको १६ हजार कित्ता सेयर २ सय ४५ र ६ हजार ८ सय ४८ कित्ता सेयर २ सय ४० रुपैयाँमा कारोबार भएको छ। ओटिसी मार्केटमा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल ५९ लाख ६७ हजार २ सय २० कित्ता सेयर ६३ करोड ६५ लाख ७ हजार ३ सय २८ रुपैयाँको कारोबार भएको छ।
 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update