Public Pana
‘हात्तीछाप’ले मनोरञ्जन दिने सौगात र उपासनाको दाबी

फिल्मलाई लिएर यसका मुख्य कलाकारहरू अभिनेता सौगात मल्ल र अभिनेत्री उपासना सिंह ठकुरी उत्साहित देखिएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै यी दुईले फिल्मले दर्शकलाई २ घण्टा पूर्ण रुपमा मनोरञ्जन दिने बताए । 
फिल्ममा सौगात मल्ल ‘बोत्तल राजा’को भूमिकामा छन् । फिल्मका लागि सौगातले कपाल पनि लामो पालेका थिए । उनले भने –‘हामीले राम्रो फिल्म बनाएर दर्शकलाई मनोरञ्जन दिने कोसिस गरेका छौँ । यसका लागि फिल्मका सबै टिमको मिहिनेत निकै छ । आशा छ, दर्शकले यो फिल्मलाई मन पराउनुहुनेछ ।’ 

फिल्म ‘२ नम्बरी’मा एकसाथ काम गरेपछि नायकद्वय दयाहाङ राई र सौगात मल्लको साथमा नायिका उपासना सिंह ठकुरीले ‘हात्तीछाप’मा काम गरेका हुन् । उपासना पनि फिल्मलाई लिएर निकै नै आशावादी देखिइन् । फिल्मले सामाजिक कथावस्तुलाई उठाएको उनको भनाई छ । उपासनाले भनिन्–‘म फिल्मको स्क्रिप्ट मन परेपछि मात्र काम गर्न अग्रसर हुन्छु । यसपटक पनि कथा पढ्दा मज्जा लागेको थियो । यसमाथि, दया र सौगात दाई भएपछि फिल्ममा यसै रमाइलो भइहाल्छ ।’ 

फिल्म ‘२ नम्बरी’मा उपासना र सौगातको प्रेम देखाइएको थियो । यसपटक भने, दया र उपासनाको प्रेम देखाइएको छ । यो विषयमा उपासनाले भनिन् –‘यो फिल्ममा दया दाई र मेरो ल्वाङ गाउँको अग्र्यानिक प्रेमकथालाई प्रस्तुत गरिएको छ । दर्शकले, दया दाई र मेरो जोडीलाई पनि मन पराउनुहुन्छ भन्ने लागेको छ ।’ 

फिल्मका निर्देशक सिमोस सुनुवारसँग काम गर्न निकै सहज भएकाले पनि नयाँ–नयाँ कुराहरू फिल्ममा आफैले जोड्न पाएको सौगातले सुनाए । ‘सिमोसजीसँग काम गर्न त एकदमै सजिलो थियो । उहाँलाई यसो गरौँ भन्ने बित्तिकै गर्न पाइने । यसैले, केही संवादहरू मैले आफै थपेको छु । निकै रमाइलोसँग काम गर्यौँ’ सौगातले सुनाए ।

फिल्ममा भुकम्पको कथा पनि उठाइएको उपासनाले खुलासा गरेकी छन् । उनले भनिन् –‘हाम्रो फिल्मले समाजमा भइरहेको घटनालाई नै प्रस्तुत गरेको छ । कतिपय कुराहरू हामीले देखेर पनि वेवास्ता गरिरहेका हुन्छौं, ती विषय फिल्ममा छन् । यस्तै, फिल्मले भुकम्पको कथालाई पनि उठान गरेको छ । समसामयिक विषयलाई रोचक तरिकाले उठान गरिएकाले हात्तीछाप विशेष छ ।’ 

किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्ममा एकातर्फ कलाकारहरूको जम्बो टिम छ । अर्कातिर, यो फिल्मको टिजरले दर्शकको माया पाइसकेको छ । निर्माणपक्षले ट्रेलर पनि सार्वजनिक गर्ने तयारी गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update