Public Pana
रबीलाई कान्तिपुरको अर्को ठुलो झड्का, १ करोड ८० लाख रुपैया बुझेको प्रमाणित तमसुकसहितको समाचारले लामिछाने तनावमा !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई कान्तिपुर दैनिकले फेरी अर्को ठुलो झड्का दिएको छ ।  लामिछानेले ग्यालेक्सी टिभि छोड्दा एक करोड ८० लाख रुपैया लिएको बैंक स्टेटमेन्टसहितको समाचार कान्तिपुर दैनिकले सोमवार प्रकाशन गरेपछि हिजै लामिछानेले पत्रकार सम्मेलन गरि उक्त रकम आफ्नो खाता नआएको दावी गरेका थिए ।

कानुन व्यवसायी शुसील पन्त र बैंकर अनिल केशरी शाहलाई साथमा राखेर आफ्नो दावीको बचाउन गर्न लगाएका लामिछानेलाई कान्तिपुर दैनिकले मंगलवारकै अंकमा एक करोड ८० लाख रुपैया लिएको तमसुक सहितको समाचार प्रकाशन गरेको छ ।

आज मंगलवार प्रकाशन गरिएको उक्त समचार पछि रावस्वपाका सभापति लामिछाने निकै  तनावमा रहेको उनका निकटवर्तीहरुले बताएका छन् । विना वित्थामा मिडियासँग दुश्मनी गरेका कारण यो हैरानि खेप्नुपरेको भन्दै उनका सल्लाहकारले  सार्वजनिक रुपमै मिडियामाथीको आरोपवारे आत्मलोचना गर्न सुझाएपछि हिजो मात्र उनले पत्रकार सम्मेलनमै यसअघि आफुबाट मिडियामाथी भएको पर्सन अट्याक गलत भएको भन्दै माफी मागेका थिए ।

कान्तिपुर मिडियासहित अधिकासं मिडियाले उनको सहकारी प्रकरणमा जोडिएको समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्न थालेपछि लामिछानेलाई निकै ठुलो संकट देखिन थालेको छ । मंगलवार कान्तिपुर दैनिकले प्रकाशन गरेको पछिल्ले समाचारबाट रबीलाई थप स्प्ष्टीकरण दिन सक्ने अवस्था नरहन सक्ने कतिपय कानुन व्यवासायीले आकंलन गरेका छन् । यद्यपी मंगलवारको कान्तिपुरको समाचारपछि पनि के रबीले फेरी पत्रकार सम्मेलन गरेर प्रष्टीकरण देलान वा अबको उनको रणनीति के होला हेर्न बाँकी छ ।

कान्तिपुर दैनिकले मंगलवार प्रकाशन गरेको रबी प्रकरणवारे समाचार यस्तो छ । 

ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले ‘कसैले बैंक भौचर भरिदिए पनि’ आफ्नो खातामा रकम जम्मा नभएको दाबी गरेका छन् । तर उनले १५ प्रतिशत सेयर बेच्दा गितेन्द्रबाबु (जीबी) राईसँग १ करोड ८० लाख रुपैयाँ लिएको हस्ताक्षर र ल्याप्चेसहितको कागज कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाएको भेटिएको छ ।

ravi kantipur news1705978245.jpeg

लामिछानेले गरेको कागजमा लेखिएको छ, ‘जम्मा १ लाख ८० हजार थान सेयरबापतको रकम रु. १,८०,००,००० (अक्षरुपि एक करोड असी लाख मात्र) बुझिलिई तपाईं यसै प्रालिका सेयरधनी दीपहरि राईका छोरा ओखलढुंगा जिल्ला सुनकोशी गा.पा.नं. १ बस्ने गितेन्द्रबाबु राईलाई सञ्चालक समितिको सहमतिको मञ्जुरीले उल्लेखित सेयर बिक्री गरिदिएको छु ।’ 

कम्पनी रजिस्ट्रार कार्यालयमा पेस गरिएको कम्पनीको माइन्युटमा समेत यही बेहोरा लेखिएको छ । कम्पनी रजिस्ट्रार कार्यालयका एक अधिकारीले यो कागजको आधिकारिता पुष्टि गर्दै कान्तिपुरसँग भने, ‘दुई जना साक्षीसमेतको हस्ताक्षर गराई नोटरी पब्लिकको कार्यालयबाट प्रमाणित गरेको कागजमा लामिछानेले एक लाख ८० हजार थान सेयरबापतको १ करोड ८० लाख रुपैयाँ बुझिलिएको कागज पेस गर्नुभएको थियो, कुनै कारणले सेयर नामसारी हुन नसके रकम फिर्ता गर्ने, रकम फिर्ता नगरे घरघराना, चलअचल श्रीसम्पत्तिबाट असुलउपर गर्नु लामिछानेले हस्ताक्षर र दायाँबायाँ औंठाको ल्याप्चे लगाई पेस गरेको कागज कम्पनी रजिस्ट्रारको कार्यालयमा सुरक्षित छ ।यही कागजका आधारमा कम्पनी रजिस्ट्रारको कार्यालयले १५ प्रतिशत सेयर रविबाट जीबीको नाममा कायम गरिदिएको अभिलेखबाट देखिन्छ ।’

बैंक भौचर तथा सेयर लगतबारे कान्तिपुरले सोमबार प्रकाशित गरेको समाचारको विषयमा आफ्नो भनाइराख्न लामिछानेले पत्रकार सम्मेलन गरेका थिए । ‘मेरो खातामा १ करोड ८० लाख छैन, आएको पनि छैन । नआएको कुराको समाचार आयो । पैसा छैन । यो कुनै लुकाउने कुरा पनि होइन । खातामा भएको लुक्ने कुरा पनि होइन,’ उनले भने, ‘त्यो कसले जम्मा गर्‍यो मलाई थाहा छैन । त्यसको सिकार म पनि भएको हुन सक्छु । त्यो ढंगबाट पनि एक पटक हेरिदिनुस् भनेर बिन्ती गरेको छु । न्यायको आवश्यकता मलाई पनि पर्छ ।’

उनको नाममा १ करोड ८० लाख रुपैयाँ जम्मा गर्न प्रयोग भएको भौचर सार्वजनिक भएपछि सोमबार नै ग्लोबल आईएमई बैंकमा पुगेका लामिछानेले बैंकबाट एउटा पत्र ल्याएका थिए । बैंकमा पत्रमा पनि सो भौचर बैंकमा जम्मा भएको तर आवश्यक मौज्दात नरहेको कारण चेक बाउन्स भएको जानकारी बैंकले दिएको छ । ‘यस बैंकमा सञ्चालन रहेको खाता नम्बर ००३०७०१०००५९१३ मा रु. १,८०,००,००० को चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक ईसीसीमार्फत क्लियरिङमा पठाउँदा ‘इनसफिसेन्ट ब्यालेन्स’ को कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको बेहोरा जानकारी गर्दछौं,’ बैंकको पत्रमा भनिएको छ । 

तर १ करोड ८० लाख लिएको भन्ने तमसुक र बैंक भौचर रवि लामिछानेले कम्पनी रजिस्ट्रार कार्यालयमा पेस गरेका थिए । तर, पैसा लिएको भनेर सरकारी अड्डामा ल्याप्चेसहित कागज गरिदिएका लामिछानेले पत्रकार सम्मेलनमा भने कसले यस्तो गर्‍यो, आफूलाई थाहा नभएको दाबी गरे । यो विषयमा कम्पनी रजिस्ट्रारको कार्यालयका अधिकारी भन्छन्, ‘लामिछानेले नगदमा रकम लिएर कम्पनी रजिस्ट्रार कार्यालयलाई भौचर मात्र पठाएका हुन सक्छन् । बैंक भौचर र ल्याप्चेसहितको कागज बनाएर कम्पनी रजिस्ट्रारको कार्यालयलाई छलेर सेयर कारोबार गरिएको हुन सक्छ । यस्तो रहेछ भने अन्य कानुनसहित किर्तेको कानुन पनि आकर्षित हुन्छ ।’

सरकारी अभिलेखमा भएका दस्ताबेजअनुसार लामिछानेले गोर्खा मिडियामा न कुनै सेयर सित्तै पाएका थिए, न त्यसै छाडेका थिए । सरकारी निकायमा पेस गरिएको कागजातअनुसार २०७७ माघ ९ शुक्रबारका दिन लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा ७५ लाख रुपैयाँ जम्मा गरेका छन् । त्यस्तै बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारीमा जम्मा भएको बचतबाट २०७८ वैशाख ५ का दिन एक करोड निकालेर रवि लामिछानेका तर्फबाट गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा गरिएको थियो । यो कारोबार सुप्रिमको प्रतिवेदनमा मात्र होइन, ग्लोबल बैंकमा रहेको गोर्खा मिडिया नेटवर्कको खाता नं. ०४०१०१००००५७७ को स्टेटमेन्टमा पनि देखिन्छ । तर सोमबारको पत्रकार सम्मेलनमा लामिछानेले आफैंले जम्मा गरेको ७५ लाखको र सुप्रिम सहकारीको रकम जम्मा भएको बारेमा सुरुमा कुनै प्रतिक्रिया जनाएनन् ।

अहिलेसम्म संकलन भएका विवरणअनुसार विभिन्न सहकारीका झन्डै ३५ हजार बचतकर्ताको करिब साढे ५२ करोड रकम ग्यालेक्सी टेलिभिजनका नाममा हिनामिना भएको छ । पोखराको सूर्यदर्शन सहकारीका १९ हजार बचतकर्ताको ३० करोड, साहारा चितवन सहकारीका ८ हजार बचतकर्ताको ११ करोड ७१ लाख र बुटवलको सुप्रिम सहकारीका ८ हजार बचतकर्ताको १० करोड ७४ लाख रुपैयाँ विभिन्न मितिमा गोर्खा मिडियामा ल्याइएको थियो । यो समूहले रकम हिनामिना गरेपछि काठमाडौंको स्वर्णलक्ष्मी, वीरगन्जको सानो पाइला र नेपालगन्जको समानता सहकारी पनि बन्द भइसकेका छन् ।

कान्तिपुरको यो समाचार पत्रकार कृष्ण आचार्य र जयसिंह महराको बाइलाइनमा प्रकाशन छ । 

 

 

 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update