Public Pana
कान्तिपुरको समाचारपछि रबी लामिछानेको पत्रकार सम्मेलनः मेरो खातामा पैसा आएकै छैन !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजन छोडेपछि सो टेलिभिजनमा भएको आफ्नो १५ प्रतिशत शेयर बिक्रीवापत आफूले पैसा नलिएको दाबी गर्नुभएको छ । 

कान्तिपुर दैनिकले रबि लामिछानेले ग्यालेक्सी टिभि छोड्दा बखत पसिनाको मुलयत स्वरुप एक करोड ८० लाख रुपैया लिएको भन्दै बैंक स्टेटमेन्टसहितको समाचार सोमवार प्रकाशन गरेपछि पत्रकार सम्मेलन गर्दै उनले यस्तो दावी गर्नुभएको हो । 

सहकारीको पैसा दुरुपयोग भएको भन्ने विषयमा प्रकाशित समाचारको खण्डन गर्दै वनस्थलीस्थित केन्द्रीय पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सञ्चारमाध्यममा आएको जस्तो रु एक करोड ८० लाख आफ्नो खातामा जम्मा नभएको जिकिर गर्नुभयो ।

“मैले गोर्खा मिडिया नेटवर्क अन्तर्गत सञ्चालित ग्यालेक्सी फोर के टेलिभिजनमा काम गर्दै गर्दा ‘गुडविल शेयर’को अपेक्षा गरेको र गुडविल शेयरको प्रावधान नभएकाले त्यसलाई प्रणालीमा ल्याउनका लागि गरिएका बाहेक मैले लिएको वा दिएको छैन”, सो सम्बन्धमा उठेका जिज्ञाशाको जवाफ दिँदै उहाँले भन्नुभयो । 

“सन् २०२२ जुन १७ मा रु एक करोड ८० लाखको चेक मेरो खातामा क्रेडिट गरिएको तर उक्त चेक इलेक्ट्रिोनिक चेक क्लियरिङ (इसिसी)मार्फत चेक क्लियरिङमा पठाउँदा सो खातामा रकम पर्याप्त नभएको हुँदा सो रकम खातामा जम्मा नभएको बैंकले विवरण उपलब्ध गराएको छ”, बैंकको पत्र देखाउँदै उहाँले भन्नुभयो ।

पत्रकार सम्मेलनमा पूर्व बैंकर एवम् रास्वपाका नेता अनिल केशरी शाहले पनि उक्त चेक क्लियरिङ नभएकाले उक्त चेकमा उल्लेखित रकम सभापति लामिछानेको खातामा जम्मा नभएको दाबी गर्नुभयो । उहाँले यस्ता घटना बैंकिङ क्षेत्रमा भइरहने भन्दै यो कुनै नयाँ घटना नभएको समेत उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update